जहाँबाट उपचार पाएर निको भए सोही अस्पतालमा कार्यरत थिए

|

पर्वत : कोरोना सङ्क्रमण भएपछि पर्वतको कोरोना अस्पताल (अस्थायी) मा उपचाररत ५ जना डिस्चार्ज भएका छन्। 

आइसोलेसनमा उपचार गराइरहेका ४ जना स्वास्थ्यकर्मीसहित ५ जनाको पछिल्लो पटक जाँच गरिएको स्वाब रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको कोरोना अस्पतालका चिकित्सक तथा पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए।

कोरोना जितेका चारै जना स्वास्थ्यकर्मी उपचारका लागि सोही अस्पतालमा खटिएर फिर्ता भएका थिए। अर्का एक स्वास्थ्यकर्मीकै परिवारका सदस्य हुन्। योसँगै पर्वतमा कोरोना जितेर घर फर्किनेको सङ्ख्या २७ पुगेको छ। जिल्लामा ८६ जना सङ्क्रमित भएकोमा ५९ जना आइसोलेसनमा रहेका छन्। सबैको स्वास्थ्य अवस्था सामान्य छ।

भारतबाट आएका थप एक जनामा सङ्क्रमण पुष्टि

जिल्लाका पाँच जनाले कोरोना जितेर डिस्चार्ज भएकै दिन थप एक युवामा सङ्क्रमणको पुष्टि भएको छ। डा.देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको नमुना परीक्षणमा ती युवामा सङ्क्रमण पुष्टि भएको हो।

उनी महाशीला गाउँपालिकाका २६ वर्षीय पुरुष हुन्। भारतबाट फर्किएपछि मोदी गाउँपालिकास्थित नव जागृत क्याम्पसको क्वारेन्टाइनमा बसिरहेका व्यक्ति हुन्। ती युवालाई गुप्तेश्वर क्याम्पसमा रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसन लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.