काठमाडौं : विश्वभर एकै दिन झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ८ सय ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको हो।
सबैभन्दा धेरै अमेरिकामा मात्रै ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन्। ब्राजिलमा झण्डै ४५ हजारमा, भारतमा १९ हजार ४ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ५ हजार ४ सय, पाकिस्तानमा ४ हजार १ सय, पेरुमा ३ हजार जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार ५७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६० हजार ७ सय १३ पुगेको छ।
अमेरिकामा हिजो ६ सय ६७, मेक्सिकोमा ६ सय ४८, भारतमा ४ सय ३८, रसियामा २ सय १६, बेलायतमा १ सय ७६, पेरुमा १ सय ८३ र पाकिस्तानमा ९१ जनाको मृत्यु भएको छ। हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नजिक पुगेको छ। मृतकको संख्या ५ लाख १८ हजार नाघेको छ भने ५९ लाख ३० हजार संक्रमित उपचारपछि निको भएका छन्।
यसैबीच, वेलायतको अक्सफोर्ड विश्वविद्यालयमा परीक्षणका क्रममा रहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले सकारात्मक नतिजा दिइरहेको जनाइएको छ। बेलायतको एक संसदीय सुनुवाइका क्रममा सरकारी कमिटीका प्रतिनिधिले परीक्षणको नतिजाले नयाँ आशा जगाएको उल्लेख गरेका हुन्। यो परीक्षण क्लिनिकल रुपमा तेस्रो चरणमा पुगेको बीबीसीले जनाएको छ। यो भ्याक्सिनको भविष्य परीक्षणको नतिजासँग जोडिएकाले कहिलेसम्म प्रयोगमा आउँछ भन्नेबारे खुलाइएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।