|

भोजपुर : अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्। शारीरिक रुपमा समेत असक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो। 

स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारकर्मीले नागरिकता दिलाउन पहल थालेका थिए। स्थानीय नागरिक भएकोले संघीय सांसद सुदन किराँतीले नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका थिए। सांसद किराँतीको निर्देशनपश्चात केही महिनाअघि नै सार्कीलाई नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाका लागि पहल गर्ने तयारी गरिएको थियो। तर देशमा जारी भएको लकडाउनका कारण वितरणमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए। 

सार्कीलाई नागरिकता वितरणका लागि बुधबार प्याउली पुगेका भोजपुरका संघीय सांसद किराँतीले संविधानमा व्यवस्था भएअनुसार राज्यको तर्फबाट पाउने अधिकारबाट कोही पनि बन्चित हुनु नहुने बताए। देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै जनताले सरकार भएको अनुभुति गर्न पाएको सांसद किराँतीको भनाइ थियो। 

समाजका निमुखा तथा विपन्न वर्गका मानिसहरुलाई सरकारको तर्फबाट पाउने सेवा सुविधा दिलाउन सबैले भूमिका खेल्नुपर्ने किराँतीले बताए। लामो समयदेखि सडकमा बसेर मागेर खाँदै आएका सार्कीलाई अरुण गाउँपालिका– २ को सिफारिसमा वंशजको आधारमा नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिए। आफ्नो नामसमेत बताउन नसक्ने उनलाई स्थानीयले बोलाउँदै आएको नाम ‘लाटा सार्की’ नै राखेर नागरिकता दिइएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.