वर्षाले बाटो अवरुद्ध, विकासको नाममा पैसा सक्ने मेसो मात्र

|

बागलुङ। पूर्वाधार विकास कार्यक्रमको १ करोड ५० लाख र सडक विभागको १ करोडमा स्तरोन्नतिको काम गरिएको सिगाना जाने सडकमा दर्जनौं पहिरो खसेपछि बागलुङ नगरपालिका–८ का अध्यक्ष राजन जिसी डोजर लगाउन व्यस्त छन्। 

वर्षा लागेपछि खसेको पहिरोले सिगानामा मात्रै ६ घर र केही गोठ जोखिममा परेका छन्। काठेखोलादेखि पहिलो खण्डमा विभाग र दोश्रोमा पूर्वाधार विकास कार्यक्रमले काम थालेको हो। 

नियमित जिप र ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्ने यो सडक अवरुद्ध भएपछि स्थानीयले सास्ती खेपेका जिसीले बताए। ‘काम त पहिले नै थालेका थिए, लामो समय गरेनन्, वर्षाले छोपेपछि डोजर लगाउँदा यो गति भयो’, जिसीले भने, ‘अत्यावश्यक सामग्री ढुवानीमा समस्या छ।’ ग्रामीण सडकको रुपमा गतवर्ष नियमित चलेको सडक यो वर्ष झन् जोखिम भएको उनले बताए। 

वर्षाकै कारण जोखिममा परेको सडक र घरगोठ जोगाउन तारजाली र प्लाष्टिक ओडाएर राख्ने काममा लाग्नुपरेको जिसीको गुनासो छ। बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा सडक खन्ने क्रममा थुप्रिएको माटो बगेपछि केही घर जोखिममा छन्। मध्यपहाडी लोकमार्गको बिहु खण्डमा पनि झरीमै माटो र ग्राभेल बिछ्याउने काम भइरहेको छ। 

पहिरोले नाली थुनिएपछि बाढी सडकबाटै हिँड्दा छेउका घरटहरामा क्षति पुग्न थालेको काठेखोला वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए। राजमार्गकै बीचबीचमा सडक चर्केपछि बिहुको इनारपानी नजिकै झण्डै ५ सय मिटरमा जोखिम मोलेर सवारी गुडेका छन्। लोकमार्ग र ग्रामीण सडकसमेत भत्केर सदरमुकामका लागि ल्याइएको खानेपानी पाइप बगाउँदा ६ दिनसम्म बजारमा पानी आपूर्ति रोकिएको छ। 

बजारबासी काठेखोलाबाट पिठ्यूँमा बोकेर ल्याउन बाध्य छन्। हिउँदमा काम नगरी वर्षा लागेपछि गर्ने प्रवृत्तिले भएका संरचना पनि बिग्रने र दुर्घटनाका जोखिम बढ्ने गरेको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले बताए। 
‘पैसा निकासा गर्ने निहुँमा वर्षामा मात्रै काम गर्ने चलन नहटेसम्म दुर्घटनाहरु पनि रोकिन्नन्’, ढुंगानाले भने, ‘समन्वय अनुगमनको क्रममा सांसद विकास कोषको रकमले गरेका काम र प्रदेश सरकारको पूर्वाधार कार्यालयको कामले जोखिम बढाएको छ।

स्थानीय नेता र कार्यकर्ताको चाहनामा सडक खन्ने काम गरिएकोले जोखिम देखिएको उनको भनाइ छ। सडक विभागले गरेका काम दिगो भए पनि चालु वर्षको बजेट सक्न भने असार लागेपछि मात्रै काम थालिएका छन्।कालीगण्डकी करिडोरको बेवास्ताले बागलुङ नगरपालिका–१३ को पैयुपाटास्थित कालाखोला नजिकै ५ वटा घर बग्ने खतरामा पुगेका छन्। 

३ घरमा पहिरो खस्ने जोखिम छ। गत वर्णदेखि ५ घरले पाल टाँगेर पहिरो जाने स्थानको पानी तर्काएका छन्। वर्षा लागेपछि काम थाल्ने, जाली, पर्खाललगायत संरक्षणमा लगानी नगर्दा यो जोखिम निम्तेको स्थानीयको भनाइ छ। 
नगर र गाउँपालिकाले विनियोजन गरेका अधिकांश योजनामा पनि असार लागेपछि मात्रै काम गर्ने प्रवृत्ति छ।

‘स्थानीय पालिकाले आफ्नो बजेट समयमै खर्चन सक्नुपर्ने हो, तर उनीहरु पनि कमिसन खान असारमै खर्चन थालेका छन्’, अधिवक्ता राम शर्माले भने, ‘अधिकांश जनप्रतिनिधि पनि कमिसन खाने धुनमा लाग्दा काम ढिला र कमजोर भएको हो।’ 

नागरिकको तहबाट गरिएको अनुगमन र सुझाव नटेर्नेलाई कारवाही हुने नीति आवश्यक परेको उनले बताए। असार १ गते लकडाउन खुलेपछि पनि मुख्य बजार प्रवेश गर्न नपाएर स्थानीयले घुमाउरो बाटो हिँड्न बाध्य छन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.