अछाम र राजस्थान पुगेर म्युजिक भिडियो सुटिङ

|

काठमाडौं : गीत समाजका प्रतिविम्ब हुन्। जुनसुकै शैलीका किन नहुन्, तिनले समाजको चित्र देखाउँछन्। चाहे खुसीका हुन् या वियोगका। गीतले मानसको मन मुटु छुन्छन्, दु:ख पीडा बोल्छन्। 

गीतका पारखी नहुने को पो होला र? नेपाली पनि प्रकृति प्रेमी, संगीत प्रेमी मानिन्छन्। यहाँ डाँडा पाखामा गुञ्जिने लोक, झ्याउरेदेखि आधुनिक गीतसमेत प्रख्यात छन्। नेपालमा हरेक दिन विभिन्‍न प्रकृतिका गीत रेकर्ड भइरहेका हुन्छन्। दिनदिनै गीति एल्बमदेखि म्युजिक भिडियोसमेत सार्वजनिक भइरहन्छन्। तर यी सबै गीत दर्शक श्रोताका मन मस्तिष्कमा बस्दैनन्, जन जिब्रोमा झुन्डिँदैनन्। केही गीतले मात्रै चर्चा बटुल्छन्, धेरै गीत रेकर्डमै सीमित हुन्छन्। 

सबै गीतले चर्चा पाउन नसक्दा सर्जकलाई पनि निराशा हात लाग्छ। कुनै गीत हिसाबले सुन्दर हुँदाहुँदै पनि आउँछन् जान्छन्। केही दिनमै हराउँछन्। हरेक गीतको आफ्नै भाग्य हुने कतिपय सर्जक बताउँछन्। यस्तै गीतहरुको भिडमा अहिले एउटा नयाँ गीत सार्वजनिक भएको छ। 

गीत यसरी अगाडि बढ्छ:

जाऊ उमेर बेची सपना किनेर ल्याऊ

यी आँसुका कलशको साइत गरेर जाऊ

 म हुँ प्रेम धागो चङ्गा भएर जाऊ

हिमताल हुँ म तिम्रै तिमी गङ्गा भएर जाऊ

कोही रहरले जान्छन् परदेश,  कोही कहरले जान्छन्। नेपाली समाजको बाध्यात्मक परिस्थिति नै बिदेशिनु हो। देश जवान उत्पादन गर्ने उद्योग बनेको छ,विदेश युवा निर्यात गर्ने बजार बनेको छ। देशको राजनितिक अस्थिरता र बढ्दो बेरोजगारीका कारण नेपाली युवाले भोगेको कहर गीतले बोलेको छ। जो सपना अन्तराष्ट्रिय विमानस्थल हुँदै उड्छ भने कति देशको सीमाबाट बाहिरिन्छन्।

आखिर जहाँबाट बाहिरिए पनि देशले युवा निर्यात गरेको छ। रेमिट्यान्स भित्र्याएको छ।  गीतको विम्ब वा प्रतीकले नेपाली समाजमा देखिएको गरिबी देखाएको छ।

समाजको चित्र हेर्दा यस्तो लाग्छ, मानौं हरेक परदेशका युवा मदन हुन। ती युवाको आगमनको प्रतिक्षामा बसेका प्रियाहरु मुना।  

हरेक विवाहित महिला परदेशिएको आफ्ना मदनको आगमनको प्रतीक्षामा छन्। हरेक मदन प्रतीक्षामा बसेकी मुनालाई भेट्ने चाहमा। तर, विडम्बना दुई बीचको दुरी गरिबीको गहिरो खाडलले टाढा टाढा बन्दैछ। परदेशिएकाहरु  चर्को घाममा पैसाका लागि आफ्नो जवानी र पसिना  साट्न बाध्य छन।  यिनै सेरोफेरोमा गीतको मुख्य कथा छ। यो कथा होइन, हाम्रो समाजको चित्र हो।

धनको लिएर आशा मनको गर्यौ तमासा

 म मुनासरी रुँदै छु बुझ आँसुको यो भाषा

 परदेशको हुरीले निभ्ने हो कि प्राण सित्तैँ

बरु फर्की आउ रित्तै मधुमास यो नबित्दै

सय लाखको यो जुनी कौडीमा नफ्याँक

गीतमा भुपू पाण्डे र मेलिना मैनालीले स्वर भरेका छन्। शब्द भने नारायण नेपालले लेखेका हुन्।

स्टाटस बन्यो गीत

करिब ६ वर्षअघि नेपालले एउटा तस्बिर खिचेर फेसबुकमा हालेका थिए। तस्विरको क्याप्सन थियो, 'छोटो छ जिन्दगी फोटो खिचेर राख' उक्त क्याप्सनले गायक पाण्डेलाई खुबै प्रभावित पार्‍यो। भुपूले नेपाललाई यसलाई गीतको स्वरुप दिन आग्रह गरे।

स्वतन्त्र रुपमा गीत गजल लेखनमा लागेका नेपाललाई बाध्यात्मक लेखन आफूलाई त्यति सहज नलाग्ने बताए पनि भुपूको लगातारको आग्रह हुन थालेपछि  गीतको स्वरुप  तयार पारे। कयौं अन्तरा लेख्दै फाल्दै गर्दा ६ वटा तयार भयो। तीमध्ये तीन अन्तरा गीतका लागि तयार भयो।

बजारलाई सरल  र स्तरीय चाहिने हुने भएकोले गीतलाई मिहिनेत गरेको उनले बताए। उनी आफैं पनी १४ वर्ष भारतमा बसेका थिए। त्यसबेला उनले कयौं दुख देखे। उनको परिवार समाज पनि बिदेशिनु जीवनको प्रतिविम्ब लेख्ने कोशिस आफूले गरेको नेपालले बताए।

६ वर्षपछि गीत सार्वजनिक

गीत लेखेको २ वर्षपछि भुपूले गीतको कम्पोज गरे। गीत रेकर्ड गर्न तयार हुने समय २०१७ मा साइँली गीत बजारमा आयो। आफ्नो गीत बजारमा आउनुअघि नै साइँली बजारमा आइसकेपछि उनलाई गीत बजारमा ल्याउन अलि सकस भयो। भुपू भन्छन्, 'साइँली र आफ्नो गीतको कथा उस्तै प्रकृतिको भएपछि मैले तत्कालका लागि गीत रेकर्ड स्थगित गरेको हुँ।'  

त्यस्तै प्रकृतिको गीतले आम दर्शकको मन जितिरहेको बेला आफूले गीत सार्वजनिक गर्दा कहिँकतै कपी जस्तो देखिने भएकोले तत्काल गीत बजारमा ल्याउन नसकिएको भुपू बताउँछन्। अहिले हरेक सर्जक हतारमा छन्। लेखेको कुरा सार्वजनिक गरिहाल्नुपर्ने, पाए वाहवाह पनि खाइहाल्नुपर्ने जमानामा ६ वर्षको प्रतीक्षा लामो अवधि हो। समय परिस्थिति अनुकूल प्रतीक्षा गर्नु आवश्यक देखिएको भुपुले बताए।

कम्पोज भइसकेको गीतलाई रेकर्ड भने  डेढ वर्ष अघि  गरियो। यो पुन रेकर्ड गरिएको गीत हो। गीत रेकर्ड भयो तर ६ वर्षको अन्तरालपछि जुन ९ को दिन सार्वजनिक भयो।

सुटिङका लागि राजस्थान यात्रा

अहिले हरेक  गीतलाई  दृश्य आवश्यक छ। गीत आम दर्शकसम्म पुर्‍याउन र गीतको स्तर गतिलाे बनाउन सर्जकहरूले दृश्यमा लगानी गर्ने गरेका छन्। कारण उही हो, गीतलाई न्याय गरोस्। आमदर्शकले मन पराऊन्। गीतको लागि ६ महिना वर्कवाउट गरेको भुपू बताउँछन्। 

नेपाली परिवेशको सुटिङ अछामको तुल्ता, कर्णाली  भन्ने स्थानमा गरिएको थियो भने भारतको पाटो भने राजस्थानको जयसलमेरमा गरियो। सुटिङका लागि ठाउँ खोजी गरिएको थियो। सुरुवाती चरणमा काठमाडौंमै गर्ने भनिए पनि गीतको विम्ब र कथाले गर्दा  काठमाडौंमा गर्दा मलामी जाँदा कोट लगाएर जाने जस्तो देखिने भएर गाउँले परिवेशका लागि आवश्यक देखिएकोले अछाम पुगिएको उनी बताउँछन्। 

यसका लागि अभिनय पनि भुपू र उषा उप्रेतीले गरेका छन्। उनी भन्छन्, 'म अभिनय गर्न जान्ने मान्छे होइन। गीतसँग आफ्नै कोर्डिनेसन गरेको मात्र हो। कहीँ कतै न्याय गरियो कि भन्ने लाग्छ।' गीतमा देखिएको सम्पूर्ण कोरियोग्राफी भुपूको कन्सेप्टमा तयार पारिएको हो। 

तिर्खाहरू सँगाली पानी बनाउँदै छु

आफै जलेर हीरा खानी बनाउँदै छु

 रित्तो छ आज बादल फर्किन्छ क्यै लिएर

 आँगन उज्यालिनेछ मुस्कान फैलिएर

यद्यपी, कन्सेप्ट निर्माण गर्नु र निर्देशन गर्नु फरक हो। निर्देशनमा आफूले न्याय गर्न नसक्ने विश्वास भएपछि निर्देशनको जिम्मा भने सागर बाबु भट्टले पाए। छायाँकन भने योगेश दाहालले गरे।

गएको माघमा गरिएको सुटिङमा पहिले भारतको पार्टहरु खिचिएको हो। तीन दिन लगाएर भिडियो सुट गरिएको थियो। भारतबाट फर्किएपछि काठमाडौंबाट ८ जनाको टोली लिएर सुटिङ टिम अछाम पुगेको थियो। 

नव गायिकाको डेब्यु 

रागको अनेक किसिम मध्ये यो गीत 'राग मलार'मा आधारित रहेर गीत निर्माण गरिएको गीतमा मेलिना पनि यही गीतबाट साङ्गीतिक क्षेत्रमा डेब्यु गरेकी छिन्। यो गीत रेकर्ड गर्दा उनी एसइईको परिक्षा दिएर बसेकी थिइन्।

झापाको स्थायी वासिन्दा  उनी कुनै मेला महोत्सव वा स्कुलको कार्यक्रममा गीत गाउँथिन्। तर, उनलाई रेकर्डिङ स्टुडियोको अनुभव भने थिएन। उनका  दाजु विनोद मैनालीको भुपू पाण्डेसँग चिनजान थियो। भुपूलाई आफ्नो गीतका लागी गायिका चाहिएको थियो भने मेलिनाका दाजुलाई आफ्नी बैनीको स्वरमा विश्वास थियो। 

भुपुले मेलिनाको आवाज सुन्न चाहे। मेलिनाले म्यासेन्जरमा आफ्नो स्वर रेकर्ड  गरेर पठाइन्। भुपूले मेलिनाको स्वर मन पराए। आफ्नो गीतमा स्वर भर्न सक्ने आश्वासन दिए। 

भुपुले उनलाई  झापाबाट काठमाडौं बोलाए। लगभग १० दिन लगाएर मेलिनाले गीत रेकर्ड गरिन्।  दुई वर्ष अघि गाएको गीत अहिले बल्ल सार्वजनिक भएको छ। गीत गाउनु र बजारमा आउनु बीचको प्रतिक्षाको लामो अवधि साँच्चै  रोचक छ। 

यो गीत  बजारमा आएपश्चात् उनलाई गीत गाउने अफर आएको छ। तर, उनी तत्कालै गीतहरू रेकर्ड गर्ने सोचमा छैनन। भन्छिन्, 'मलाई गीत गाउन मन पर्छ। अहिले म पढ्दै छु। पहिले पढाई सक्छु। त्यसपश्चात भने संगीतमा आउने सोच रहेको छ।' 

स्कुलमा हुने गीत प्रतियोगिता हुँदै जिल्लासम्म पुगेको उनको आवाज अहिले यो गीतको माध्यमबाट विश्वभर पुगेको छ। उनले त्यस्तो औपचारिक संगीत सिकेकी छैनन्। तर, फुर्सदको समय भने उनी हार्मोनियममा  सुर भर्छिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.