सभामुखको सचिवालय भन्छ : कुनै जानकारी छैन

|

काठमाडौं : संसद अधिवेशन अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको तल्लो सदनका सभामुख अग्निप्रसाद सापकोटा र उपल्लो सदनका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग परामर्श नगरी सिफारिस गरेको दुवै सदनको सचिवालय स्रोतले बताएको छ।

‘प्रधानमन्त्रीज्यूले कसरी गर्नु भयो थाहा भएन,’ सभामुख अग्‍नि सापकोटाको सचिवालय स्रोतले भन्यो, ‘यसबारेमा जति छलफल हुनुपर्ने हो केही पनि भएन।’ 

सभामुखको सचिवालयले प्रधानमन्त्रीले यसबारे छलफल गरेको भए  स्थगित बैठक असार २२ गतेलाई आह्वान नै नहुने थियो भनेको छ। संसद सचिवालयले आज सूचना जारी गरेर २२ गते बैठक नबस्ने र अधिवेशन अन्त्य भएको पनि जानकारी  गराएको छ। 

‘सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/३/१८ गते बिहीबारका दिन  अपरान्ह ५ बजेदेखि अन्त्य गर्नु भएकोले संघीय ‘संसदको दुवै सदनको चालू छैटौँ अधिवेशन आजै मिति २०७७ असार १८ गते अपरान्ह ५ बजेदेखि स्वत: अन्त्य भएको हुँदा २०७७ साल असार १७ गते बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट मिति २०७७ असार २२ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठकसमेत अन्त्य भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ३ को उप नियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संघीय सदनका महासचिव डा.भरतराज गौतमले सार्वजनिक गरेको सूचनामा भनिएको छ।   

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि अधिवेशन अन्त्य गर्नेबारे कुनै छलफल नगरेको बताएको छ। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले ट्वीट गरेर नेकपाको किचलोको अचानो संसद भएको बताइसकेका छन्।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेको दाबी गरेको छ। 

‘संसद् अधिवेशन अन्त्यको सिफारिस गर्नुअघि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले नेकपाका अध्यक्ष माननीय पुष्पकमल दाहाल र प्रतिपक्षी नेता माननीय शेरबहादुर देउवालगायतसँग यस विषयमा परामर्श गर्नु भएको थियो ’ प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजागाइँले थाहाखबरसँग बताएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.