महासचिव भन्छन् : उहाँ जबरजस्ती घुस्‍न आइ पुग्‍नुभयो

|

काठमाडौं : केही दिनअघि निर्वाचन आयोगमा दर्ताका लागि पुगेको प्रस्तावित नेकपा एमालेको अध्यक्षका रुपमा विवादित ठेकेदार मनोज भेटवाल रहेको खुलेको छ।

यही सोमबार भेटवालसहितको टोली कान्तिपथको बहादुर भवनस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेको खुलासा भएको छ। उनी प्रस्तावित नेकपा एमालेको अध्यक्षकै रुपमा नयाँ पार्टी दर्ताका लागि त्यहाँ पुगेका थिए। 

तेह्रथुमकै गाउँमा जन्मिएर झापा बसाइँ सरेका उनी पछिल्लो समय काठमाडौंमा ठेक्कापट्टमा संलग्न थिए। सरकारको कारवाहीको सूचीमा परेका उनी निर्वाचन आयोगमा पुगेपछि खैलाबैला भएको थियो। उनको पुर्ख्यौली थलो तेह्रथुमको आठराई गाउँपालिका हो। त्यसलाई साविकमा इवा, सल्ले भनेर पनि चिनिन्छ ।

प्रस्तावित एमालेको अध्यक्षका रुपमा उनको नाम सबैभन्दा माथि थियो। तर उनी सरकारको खोजीको सूचीका अभियुक्त थिए। जलेश्वर–स्वच्छन्द बिकोई विल्डर्स प्रालिका नामको निर्माण कम्पनीबाट उनले केही वर्ष अघिसम्म ठूला ठूला ठेक्का हत्याउने गरेका थिए।

पुरानो बसर्पाकस्थित काठमाडौं भ्यू टावरको ठेक्का लिएर अलपत्र छाडेका उनीमाथि सरकारले अनियमितताको आरोप लगाएको थियो। सरकारवादी मुद्दाका अभियुक्त उनले चेक बाउन्स र विदेशी मुद्रा अपचलनको मुद्दा खेपिरहेका छन्।

निर्वाचन आयोगमा नेकपा एमालेका अध्यक्षका रुपमा पुगेका उनको नाम मनोजकुमार भेटवाल थियो भने ठेगाना चाहिँ झापाको शिवगञ्ज लेखिएको थियो। विभिन्न मुद्दाका अभियुक्त रहेको पुष्टि भएपछि निवेदकहरुले नै उनको नाममा टिपेक्स लगाएर मेटाइदिएका थिए।

त्यसपछि प्रस्तावित नेकपा एमालेको अध्यक्षका रुपमा विराटनगर महानगरपालिका वडा नम्बर ६ निवासी ​सन्ध्या तिवारीको नाम राखियो। 

झापाबाटै नागरिकता बनाएका उनले त्यसकै आधारमा व्यावसाय गर्दै आएका छन्। उनले निर्वाचन आयोगमा पनि झापामै बनाइएको उक्त नागरिकता पेश गरेका थिए। निर्वाचन आयोगमा दल दर्ताका लागि ५ सय जनाको नागरिकताको प्रतिलिपिसहित निवेदन दिनुपर्ने व्यवस्था छ। 

निर्वाचन आयोगको कानुन अनुसार राजनीतिक दल दर्ता गर्ने व्यक्तिमाथि कुनै किसिमको फौजदारी अभियोग लागेको हुनुहुँदैन। यदि फौजदारी अभियोग लागेको भए वा त्यस्तो अभियोग विचाराधीन देखिएमा दल दर्ताको निवेदन स्वत: दरपीठ हुने व्यवस्था छ। भेटवाल विरुद्धको मुद्दा हाल पाटन उच्च अदालतमा चलिरहेको छ। उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको खुलेपछि उनको नाम र पद दुवै टिपेक्सले मेटाइयो। 

यस्तो छ अभियोग 

पुरानो बसपार्कस्थित काठमाडौं टावरका ठेकेदार भेटवाललाई २०७६ साउनमा विदेशी विनिमय अपचलनको मुद्दा लागेको थियो। राजश्व अनुसन्धान विभागले काठमाडौं टावरका ठेकेदार भेटवालसहित ४ जनालाई काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलनको मुद्दा चलाएको थियो। 

विभागले उनीसहित निशा गुरुङ, राजकुमार विष्ट र शिव विष्टविरुद्ध ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दर्ता गरेको थियो। विभागले उनीहरुलाई ३ वर्ष कैद र बरामद दशीसमेत जफत गर्नुपर्ने माग दाबी गरेको थियो। 

भेटवाल गैरकानुनी रुपमा खुलामञ्चमा सटर बनाएर विक्री गरेको आरोप पनि लागेको थियो। विभागले त्यसबेला अनुसन्धान गर्दा भेटवालले ४ करोड ६० लाख भन्दा बढी हुन्डीमार्फत अवैध रकम नेपाल भित्र्याएको अनुसन्धानबाट फेला पारेको थियो। उनले जलेश्वर स्वच्छन्द बिकोई नामक आफ्नै कम्पनीमार्फत गरेको कारोबार शंकास्पद भेटिएपछि विभागले अनुसन्धान गरेको थियो। 

भेटवालले राष्ट्र बैंकमार्फत प्रक्रिया पूरा नगरी सिंगापुरमा विभिन्न व्यक्तिसँग लगानीका नाममा उठाएर टावरका लागि भित्राएको प्रमाणित भएको विभागले जनाएकाे थियो। ७५ लाख १० हजार रुपैयाँको फर्जी चेक प्रकरणमा प्रहरीले पक्राउ गर्न खोजी थालेपछि उनले २०७६ फागुन २८ गते महानगरीय प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी  जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणका लागि भेटवालले विभिन्न मुलुकबाट रकम ल्याएको प्रमाण यसअघि नै भेटिएको थियो । विभागका अनुसार हुन्डीमार्फत रकम भित्र्याएर उनले टावरमा लगानी गरिरहेको भेटिएको थियो। 

के भन्छन् प्रस्तावित एमाले महासचिव

प्रस्तावित एमालेका महासचिव मनीषकुमार उपाध्यायले पार्टी दर्ताका लागि आफूहरुले गरिरहेको छलफलमा उनी नै जवरजस्ती आएर घुसेको बताउँछन्। 

उपाध्यायले भेटवालले प्रस्तावित पार्टीमा बस्न इच्छा जाहेर गरेको पनि सुनाए। ‘हामीसँग बस्न उहाँले पनि इच्छा देखाउनु भएको हो। अध्यक्षकै सन्दर्भमा चाहिँ उहाँको नाम भूलवश परेको हो। निर्वाचन आयोगमा पुगेपछि हामीले टिपेक्स लगाएर सच्यायौँ, हाम्रो प्रस्तावित पार्टीकी अध्यक्ष सन्ध्या तिवारी नै रहेको बताए। ‘भेटवालजी हामी छलफलमा जुटेको ठाउँमा आएर बस्नु, त्यही क्रममा उहाँको नाम भूलवश परेको हो। फौजदारी मुद्दा लागेको मान्छेलाई हाम्रो पार्टीमा राख्ने कुरा नै भएन।’

सबैसँग राम्रो छ 

महासचिव उपाध्यायले आफूहरुले कसैको निर्देशनमा पार्टी दर्ता नगराएको जिकिर गरेका छन्। उनले नेकपा एमालेको ठूलो विरासत भएकाले यसलाई भविष्यमा पनि कायमै राख्न आयोगमा दर्ता गरेर आधिकारिकता दिन खोजेको बताए। 

एमाले पार्टी कसैको निर्देशन र सल्लाहमा दर्ता गर्न खोजेका होइनौँ। हामीसँग प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसँग पनि राम्रो छ’, उनले भने, ‘महेश बस्नेतसँग पनि भेटघाट हुँदा कुरा हुन्छ। गगन थापासँग पनि सम्बन्ध छ। तर अहिले कसैको इशारामा पार्टी दर्ता गरेको होइन।’

उनले मदन भण्डारीको जन्मजयन्तीमा पार्टी दर्ता गर्ने क्रममा नेकपा पनि  विवाद सिर्जना भएको बताए। ‘हामी चार पाँच महिनादेखि नै मिलिरहेका थियौं, छलफलमा थियौँ। लकडाउनमा पनि काठमाडौंमै दर्ताबारे कुरा गरिरहेका थियौँ’, उनले भने, ‘भेटेर निचोड निकालेर मदनको जन्म जयन्ती दर्ता गर्न निवेदन दिएका हौँ। एमाले ब्रान्ड नेम हो। नेकपा एमाले नै दर्ता गराउन खोज्दा देशको परिस्थिति त्यस्तो भयो।  यसमा कसैको निर्देशन र इशारा छैन।’

महासचिव उपाध्यायले निर्वाचन आयोगले छानबिन गरिरहेकाले केही समय लाग्ने बताए। ‘दर्ता प्रक्रियामै छ। औपचारिकता पाउन अझै समय लाग्छ’, उनले भने, ‘हामीले कागजपत्र पूरा गरेर नै २१ सदस्यीय केन्द्रीय समितिसहितको पार्टी दर्ताका लागि निवेदन दिएका हौँ।’

को को छन् पदाधिकारी

१. सन्ध्या तिवारी : अध्यक्ष, विराटनगर–६, मोरङ

२. भगवती खड्का : उपाध्यक्ष, रामेछाप

३. मनीषकुमार उपाध्याय : महासचिव, जनकपुर

४. अस्मिता सुनार : सचिव, खोटाङ

५. दावा लामा : सचिव, सर्लाही

६. जयराज राउत : सचिव, रौतहट

७. खगेन्द्रप्रसाद भुसाल : सचिव, पर्वत

८. राधा पुरी :  सचिव, अर्घाखाँची

९. हिराबहादुर बोहरा : सचिव, डोल्पा

१०. तारादेवी शाही : सचिव, बाजुरा

११. पवन विष्ट : सदस्य, स्युचटार, काठमाडौं

१२. निलम पोखरेल : सदस्य, झापा

१३. किरण लामिछाने : सदस्य, गोठाटार, काठमाडौं

१४. उमेश महतो : सदस्य, सर्लाही

१५. उषा कुमारी झा : सदस्य, धनुषा

१६. प्रदीपराज गिरी : सदस्य, गोठाटार, काठमाडौं

१७. पूर्णिमा तामाङ : सदस्य, काभ्रे

१८. निश्चल बस्नेत : सदस्य, सिराहा

१९. सञ्जीव विष्ट : सदस्य, गोठाटार, काठमाडौं

२०. विनिता कार्की : सदस्य, छालिङ, भक्तपुर

२१. विमला विष्ट रोका : सदस्य, स्युचटार, काठमाडौं

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.