|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छलफल नगरेको प्रष्ट पारेको छ। कांग्रेसले विज्ञप्ति जारी गर्दै जारी अधिवेशन अन्त्य गरिएको घटना आपत्तिजनक भएको र यसमा कांग्रेसको असहमति रहेको बताएको छ।  

‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति?,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीसमक्ष सार्वजनिक रूपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ।’ 

विज्ञप्तिमा अधिवेशन अन्त्य गर्नेबारे कांग्रेससँग कुनै परामर्श नगरिएको र पूर्व सूचना पनि नदिइएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘संसद अधिवेशन अन्त्य गर्नेबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्वसूचना दिइएको थियो।’ 

कांग्रेसले नेकपा भित्रको द्वन्द्वको प्रभाव संसद् अधिवेशनमा पर्नु आपत्तिजनक भएको पनि जनाएको छ। ‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनीतिक दलभित्रको द्वन्द्वको दुष्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कैयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरता साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘तर, अधिवेशन हठात अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.