|

काठमाडौं : सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिने ३० करोड ८० लाख बराबरको अनुदान सहायता स्वीकार गरेको छ। 

सरकारका प्रवक्तासमेत रहेका अर्थ÷सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले जापान सरकारले दिने विद्यालय क्षेत्र विकास सहायताको रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताएका छन्। मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबिसे प्रसारण लाइन २२० केभी र कसाहा विराटनगर १३२ केभी प्रसारण लाइनका लागि जमिन उपलब्ध गराउने निर्णय भएको पनि बताए।

यस्तै सर्लाही रामनगर ४ का रामजनम रायको परिवारलाई राहत क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ। परराष्ट्रमन्त्रालय अन्तर्गत २ वटा अस्थायी दरबन्दी स्वीकार गर्ने, बिदामा नेपाल आएका करार र भिसा अवधि बाँकी रहेकाको हकमा पिसिआर परीक्षण र अन्य स्वास्थ्य प्रोटोकल पालना गरी जान दिने निर्णय पनि सरकारले गरेको छ।

पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले कोभिड परीक्षण र अन्य प्रोटोकलको पुरा गरेमा पुनः स्वीकृति दिने निर्णय पनि भएको उनले बताए। सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय प्रवेश विन्दु र खुला सीमा नाकाबाट हुने यात्रु आवागमनलाई बन्द गर्ने निर्णय पनि गरेको छ।

सरकारले नेपाली नागरिकका विदेशी राहदानीबाहक आफन्तलाई आवश्यक प्रोटोकल पुरा गरी नेपाल आउन दिने निर्णय पनि गरेको छ। विमानस्थलबाट होल्डिङ सेन्टरसम्म लैजान नेपाली सेनाको सवारी प्रयोग गर्ने निर्णय पनि सरकारले गरेको छ। जिल्ला कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) ले सीसीएमसीसँगको समन्वयमा आवश्यक परे आंशिक वा पूर्ण रुपमा जिल्ला सिल गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.