|

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ । 

रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलव ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कूल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए । 

रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत संग्रहका लागि आह्वान गरेका थिए। जसमा राष्ट्रपतिको कार्यकालसमेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरु रहेका थिए । उनको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदै छ । 

पछिल्लो जनमतसंग्रहले पुटिनलाई अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्गप्रशस्त गरेको छ। यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसदको अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । राष्ट्रपतिले रुसमा समलिंगी विवाहमाथि प्रतिबन्ध लगाउन सक्ने तथा मजदुरको न्यूनतम ज्याला एवं निवृत्तिभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई नयाँ जनमत संग्रहले अनुमोदन गरेको छ। 

रुसका दुबै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनमत संग्रहमार्फत अनुमोदन गराउन चाहेको बताएका थिए। 

यद्यपि रुसमा राष्ट्रपति पुटिनका प्रखर आलोचक अलेक्सी नाभाल्नीले जनमत संग्रहको परिणामप्रति आश्वस्त हुन नसकिने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.