|

तनहुँ : व्यास नगरपालिका–१ की ४० वर्षीया महिला बिहीबार कोभिड १९ संक्रमणमुक्त भएकी छन्। अपरेसन गरी घरमै स्वास्थ्य लाभ लिइरहेको अवस्थामा उनमा कोरोना संक्रमण देखिएको थियो। 

असार ३ गते पहिलो पटक उनको स्वाब नमुना संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। असार ११ गते दोस्रो पटक उनको स्वाब संकलन गरी स्वास्थ्य निर्देशनालय पोखरा पठाइएकोमा बिहीबार रिपोर्ट आएको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। 

‘दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनको घरमै पुगेर रिपोर्ट बुझाइएको छ,’ सोतीले भने। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घरमै पुगेर उनलाई रिपोर्ट हस्तान्तरण गरेका हुन्। नगर प्रमुख न्यौपानेले बिरामी भएकै अवस्थामा पनि कोरोनामुक्त हुन सफल भएकोमा बधाई दिँदै स्वास्थ्यलाभको कामना गरेका छन्। आगामी दिनमा स्वास्थ्यमा संक्रमण दोहोरिन नदिन सचेत हुन समेत मेयर न्यौपानेले सुझाएका थिए। 

कोभिडमुक्त महिलाले आत्मविश्वास भएमा रोगसँग लड्न सक्ने बताइन्। ‘विदेशमा मर्नेको संख्या बढेको देख्दा पनि सचेत छु भन्ने लागेको थियो, आज मेरो आत्मविश्वासले कोरोनालाई जित्न सफल भएकी छु, कोरोना संक्रमण भयो भनेर डराउनुपर्दैन, आत्मबल बढाउनुहोस्,’ उनले भनिन्। 

त्यस्तै बिहीबारै इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी समेत कोभिड १९ को संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार पोखराकै आइसोलेसनमा रहेका प्रहरीको रिपोर्ट नेगेटिभ आएपछि कोरोनामुक्त भएका छन्। उनले पिसिआर परीक्षणका लागि गएकामा त्यहीँको आइसोलेसनमा रहेर उपचार गराएका थिए। 

बिहीबार दुई जना कोरोनामुक्त भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको संख्या ३६ पुगेको अधिकारीले बताए। व्यास नगरपालिकाको १६ मध्ये दुई, शुक्लागण्डकी नगरपालिकाको आठमध्ये चार, ऋषिङ गाउँपालिकाको ३५ मध्ये छ, घिरिङ गाउँपालिकाको २६ मध्ये २२, आँबुखैरेनी गाउँपालिकाको चारमध्ये दुई गरी जिल्लामा ३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। जिल्लामा हालसम्म १ सय २८ जना कोभिड १९ का संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.