दुवै अध्यक्षले कम्प्रमाइज गर्ने दाबी

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन्। 

उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठ्नुमा कुनै तर्क नभएको बताएका छन्। बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका हुन्। 

'खासगरी प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ दुईवटै पद छोड्नुपर्छ भन्‍ने कुरा हो यो चाहिँ काम नलाग्‍ने कुतर्क हो। यो त नेताहरुलाई पनि थाहा छ। त्यसैले जे मिलेको छैन उहाँहरु छलफल गर्नुहुन्छ', उनले भने, 'पर्सि बैठक हुने हो। भोलि दुई अध्यक्ष लामो छलफल गर्नुहुन्छ होला। संवादबाटै निकास खोज्‍ने हो। त्यस्तो धेरै पेचिलो छैन।’

नेता बाँस्कोटाले नेकपासँग विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरूबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको पनि बताए। 'नेकपासित के विकल्प छन? या त विभाजन हुन पर्‍यो या त एकता गर्नुपर्यो या त कम्प्रमाइज गर्न पर्‍यो। यो भन्दा बाँकी त कुनै विकल्प नेकपासित छैन नी', उनले भने, 'सबैलाई थाहा छ नेकपा संक्रमणकालमा चलिरहेको छ। त्यसैले यस्तो बेलामा दुईवटा स्कुलिङको द्वन्द्व पनि देखिन्छ। त्यो कुरा नेताहरुलाई थाहा छ।’

उनले बैठकमा राजीनामाको कुरा उठ्नु स्वभाविक भएको बताए। लोकतन्त्रमा आफ्ना कुरा सबैले राख्‍न सक्ने तर अहिलेसम्म लक्षमण रेखा कसैले ननाघेको बताए। उनले भने ‘बैठक बस्छन्, आफ्ना कुरा राख्छन्, आफ्नो दृष्टिकोण राख्छन् तर लक्षमण रेखा कसैले पनि नाघेको मैले देखेको छैन। नाघ्ने कोसिस पनि कसैले गर्दैन, किन भने एकता गर्दा नै यसका पेचिला पक्ष र यसका उज्जवल पक्षहरुको बारेमा जानकार नै छन्।’

उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पादबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए। उनले अझै पनि मेजोरिटी प्रधानमन्त्रीकै नाममा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए।

बाँस्कोटाले व्यक्ति हेरेर सिद्धान्तहरुको निरुपण वा प्रतिपादन गर्न नहुने समेत बताए। प्रधानमन्त्री पाँच वर्षलाई निर्वाचित भएको र दुईवटा अध्यक्ष महाधिवेशन नहुँदासम्मलाई अध्यक्ष भएकाले एक व्यक्ति एक पद लागू नहुने पनि उनले स्पस्ट पारे। 

उनले अहिले प्रधानमन्त्रीमाथि कुनै ठूलो चौतर्फी आक्रमण पनि नभएको बताए। उनले भने ‘चौतर्फी आक्रमण पनि छैन। प्रश्‍न उठ्नु आक्रमण होइन, प्रश्‍न उठ्नुलाई आक्रमण मानिँदैन। प्रश्‍न उठ्छ, जवाफ दिनेले जवाफ दिनुपर्छ। तथ्याङ्क पेश गर्नुपर्छ।’

नेता बाँस्कोटाले संसद अधिवेशन अन्त्यबारे प्रमुख प्रतिपक्षी दलका नेता र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी रहेको बताए। संसदको महत्वपूर्ण बिजनेस नभएको जानकारी सबैलाई भएको र त्यसै कारण संसदको अधिवेशन अन्त्य हुनुलाई कुनै अनौठो मान्‍नु नपर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.