आगामी सिजनबाट सहभागिता जनाउने

|

इलाम : स्पेनिस फुटबल क्लब रियल मड्रिडको अब महिला फुटबल टिम समेत हुने भएको छ। लामो समयदेखि महिला टोलीबिना युरोपका केही शीर्ष क्लबहरूमध्ये एक भएको भन्दै आलोचना भएपछि ‘लस ब्ल्यान्कोस’ नामले चिनिएका रियलले मड्रिड सहरकै डिपोर्टिभो ट्याकोन क्लबलाई तीन लाख युरो खर्च गरेर किनेको हो। 

अब त्यही टिमलाई ‘रियल मड्रिड फेमेनिनो’ भनेर चिनिने छ। स्पेनिस भाषामा ‘फेमेनिनो’को अर्थ महिला भन्ने हुन्छ। मड्रिडको चिर प्रतिद्वन्द्वी बार्सिलोना र एथ्लेटिकोलगायतका क्लबको महिला टिम छन्। जसले नियमित रुपमा उपाधिका लागि प्रतिस्पर्धा गर्दै आएका छन्।

सन् २०१४ मा स्थापना गरिएको ट्याकल क्लब सन २०१९ मा ५ लाख युरोमा किन्न साधारणसभाको ९०.६ प्रतिशतले सहमति दिएको सिएनएनले जनाएको छ। यद्यपि, रियलले आगामी सिजन २०२०–२१ बाट सहभागी गराउने महिला टिमका लागि तीन लाख युरो मात्र खर्चिएको बिबिसीले उल्लेख गरेको छ।

महिला टिम सार्वजनिक गरेपछि मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भने, ‘त्यस्तो टोली निर्माण गर्ने समय आइसकेको छ कि तपाईं सबैमा गर्व हुनेछ।’ रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ)को सदस्यहरुले रियलको निर्णयलाई स्वीकृति दिएपछि उसले नयाँ टिमलाई व्यवस्थापन गर्नेछ। क्लबको घोषणापछि मड्रिडले भनेको छ, ‘क्लबले महिला टिमको डिपोर्टिभो ट्याकोनसँग मर्जर सम्बन्धमा आरएफइएफलाई डकुमेन्ट पठाएका छौं।’ आरएसएफएफले पनि रियलले पठाएको सबै डकुमेन्ट सही भएको र चलिरहेको फुटबलको सिजन सकिएपछि मर्जर लागू हुने बताएको छ।

सन २०१८ की बालोन डि ओर फेमिना विजेता लियोनकी एडा हर्जवर्गले रियल मड्रिडको महिला टिम गठने सकारात्मक कदम भएको बताएकी छन्। २४ वर्षीया हर्जवर्गले भनिन्, ‘मलाई आशा छ कि उनीहरूले लगानीलाई दीर्घ अवधिमा स्थिर गर्नेछन् र उनीहरूसँग दीर्घकालीन लक्ष्य छ किनकि यो रातोरात हुन सक्दैन।’ ट्याकोन गत वर्ष स्पेनिस महिला लिगको शीर्ष स्थानमा बढुवा भएपछि क्लब एकीकरण चर्चा सुरु भएको थियो।

मड्रिडले सन २०१९ को बालोन डि ओर फेमिनाका लागि मनोनयनमा परेका स्विडस अन्तर्राष्ट्रिय खेलाडी कोसोभारा अस्लानीसँग पहिलो सम्झौता गरेको छ। अस्लानीले ट्विटरमा पोष्ट गर्दै भनेकी छन्, ‘गर्वका साथ घोषणा गर्दछु म रियल मड्रिड÷सिडी ट्याकोनलाई पहिलो सम्झौता भएको छु  निर्माण सुरु गर्न र प्रारम्भबाट यस टोलीको हिस्सा बन्दै इतिहास लेख्न उत्साहित छु। आगामी सिजनबाट सुरु हुने विश्वको सबैभन्दा सुन्दर जर्सी लगाउने सपना हुनेछ। हला मड्रिड।’

अस्लानीसँगै बालोन डि ओर फेमिनाका लागि मनोनयन परेकी स्विडिस सोफिया जेकोभ्सन र एसी मिलानबाट खेल्दै आएकी ब्राजिलियन मिडफिल्डर थाइसालाई समेत क्लब भित्र्याएको बिबिसीले जनाएको छ। अब रियलले आउँदो सिजन (२०२०–२१)बाट महिला टिम फुटबलमा पनि सहभागिता जनाउने भएको छ। रियल मड्रिड सिटी महिला टिमको घरेलु मैदान र ट्रेनिङ मैदानको रुपमा हुनेछ।

ला लिगा क्लब बार्सिलोना, एथ्लेटिको मड्रिडसँगै रियाल सोसिडाड, स्पानोयल, भ्यालेन्सिया, सेभिल्ला, रियल बेटिस, एबर, रियल भालाकानो र लेभान्टेको महिला टिम रहेको छ। सन् २०१९÷२० को सिजनमा अपराजित रहँदै बार्सिलोनाले उपाधि जितेको थियो। २१ खेलमा १९ जित र दुई बराबरीको साथ ५९ अंक बटुल्दै बार्साले उपाधि आफ्नो पक्षमा पारेको थियो। 

दोस्रो स्थानको एथ्लेटिको मड्रिड १५ जित पाँच बराबरी एक हारसहित ५० अंकको साथ युइएफए वुमन्स च्याम्पियन्स लिगको लागि बार्सिलोनासँगै छानिएको थियो। कोरोनाको कारण राउन्ड–१६ बाट रोकिएको च्याम्पियन्स लिगको पहिलो क्वाटरफाइनलमा बार्सा र एथ्लेटिको मड्रिड आगामी २१ अगष्टमा आमने सामने हुने तय भएको छ। बार्सा २०१८–१९ को सिजनमा फ्रान्सेली क्लब लियोनसँग ४–१ ले हारेपछि वुमन्स च्याम्पियन्स लिगको  उपविजेता बनेको थियो।

स्पेनिस महिला फुटबलको सन २०११ मा सुपर लिगाबाट प्रिमिरा डिभिजन नामाकरण भएपछि बार्सिलोनाले सर्वाधिक पाँचपटक उपाधि जितेको छ। एथ्लेटिको मड्रिडले तीन र एथ्लेटिको बिल्बाओले एकपटक उपाधि आफ्नो पक्षमा पारेको छ। स्पेनमा १९८८–८९ बाट महिला फुटबल लिग संचालन भए पनि व्यावसायिकताको दर्जा पाएको थिएन। तर, १० जुन २०२० बाट प्रिमिरा डिभिजनलाई व्यावसायिक फुटबलको दर्जा दिइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.