|

इलाम : इलाममा सलह किराको झुन्ड देखिएको छ। भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ को तल्लो धजे क्षेत्रमा बिहीबार दिउँसो सलह देखिएको हो।

स्थानीय शिक्षक कुलप्रसाद ढकाल अनुसार बिहान १० बजेतिर चिया, इस्कुस र मकैको बोटमा सलह देखिएको थियो। स्थानिय किसान सुजन खतिवडा, लोकनाथ खतिवडा र चेतन ढकाल लगायतको बालीमा सलह देखिएको हो।

‘सलहले ४/५ बोट चिया, इस्कुस र मकैको पात खाएको छ,’ किसान सुजन खतिवडाले भने, ‘करिब २०/२५ वटा मात्र नियन्त्रणमा लिन सकिए पनि मानिस छेउ पुग्ने बित्तिकै तीव्र गतिमा भाग्ने भएकाले नियन्त्रण सम्भब भएन।’ मकैबालीमा सलह आएर बसे पनि धेरै क्षति भने गर्न नभ्याएको खतिवडाले बताए।

सूर्याेदय–१ का वडा सचिव नवीन ढकालले पनि बिहीबार गाउँमा सलह देखिएको बताए। ‘बिहीबार करिब एक घण्टा एक हुल सलह देखिएको थियो। इस्कुस, मकै, चियाको पात खरेटो जस्तै गरेर सिनिक्कै पारेको छ,’ उनले भने, ‘आज बिहान ९ बजेतिर पनि फाट्फुट्ट देखिँदैछ भन्ने जानकरी आएको छ।’

सलहको यो झुन्ड सीमावर्ती भारतको दार्जिलिङतिरबाट प्रवेश गरेको ढकालले बताए। केही समयअघि छिमेकी दार्जिलिङमा सलह देखिएको कारण रुङसुङ खोलाको किनारै किनार यता प्रवेश गरेको हुनसक्ने उनले बताए। सूर्योदय नगरपालिकामा बुधबार सलहजस्तै देखिने किरा कर्मचारीले कार्टनमा हालेर ल्याएको थियो।

नगरको कृषि शाखा प्रमुख नारायण लम्सालले शाखाको टोलीले सम्बन्धित ठाउँमा पुगेर जानकारी लिने बताए। ‘आज बिहानसम्म त हामीलाई त्यसबारे सूचना थिएन,’ उनले भने, ‘आजै त्यहाँ पुगेर जानकारी लिन्छौं।’

फेद कटुवा किरा र फौजी किराको प्रकोप झेलिरहेका इलामका विभिन्न ठाउँका किसानहरू सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन्। फेद कटुवा किराले मकै बाली नष्ट गरेपछि दोस्रो पटक लगाएको मकैमा सलहको समेत प्रकोप देखिन थालेपछि अनिकाल हुने चिन्ता थपिएको किसान पुजन खतिवडाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.