|

अर्घाखाँची : सलह किराले अन्नबाली सखाप पार्न थालेपछि यहाँका किसान निरास भएका छन्। सलहले बारीमा लगाएको अन्नबाली सखाप पारेपछि उनीहरु चिन्तित भएका हुन्। अर्घाखाँचीका किसानलाई बाँदर र बँदेलले बाली खाएर हैरानी बनाएको थियो। सोमबार दिउँसो देखी भित्रिएको सलहले अहिले सम्म हजारौं रोपनी जग्गामा लगाएको धान तथा मकैबाली नष्ट गरेको छ।

शीतगंगा, भूमिकास्थान, सन्धिखर्क नगरपालिका , पाणिनी , छत्रदेव र मालारानी गाँउपालीकाको बिभिन्न गाँउ टोलका किसानका धानको ब्याड, मकै तथा तरकारी खेतीमा सलहले नष्ट गरेको शीतगंगा ७ जलुके रातेडाँडाका किसान तेज बहादुर भुसालले बताए। उनी भन्छन्,' भर्खर पसाउन लागेको मकै खेती नराम्रोसँग सलहले खाइदिएको छ। १६ रोपनीको बारीमा लगाएको मकै बाली खाएर डाँठ मात्र बनाइदिएको छ।' परिवार पाल्नकै लागी दुख गरेको मकै खेती सलहले सखाप खाएपछि अन्य बालीलाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको उनी बताउँछन्।

लगातार पाँच दिनसम्म मकै बारीमा सलह आएपछि आगो धुवाँ लगाउने , थाल टिन ठटाउने, मानिस परिचालन गरेपनि नसकिएपछि अठार रोपनी बारीमा लगाएको खिस्सा भिरेको मकै बाली नष्ट गरेको ७८ वर्षीय किसान तेजबहादुर घर्तीले बताए। शीतगंगाको सिमलपानी, ठाडा, जुकेना, जलुके, सीतापुर, सिध्धारा, सुवर्णखालका किसानले सलह धपाउन सास्ती पाएका हुन्।

सलहको झुन्ड खेतीमा पसेपछि पूरै किसानको तरकारी र अन्नबाली नष्ट गरेको जलुकेका पीडित किसान अनिल वीरकट्टाले बताए। उनी भन्छन्, 'हेर्दा हेर्दै गाउँमा लगाएका बालीमा सलह बस्यो, धपाउन कत्ति प्रयास गर्दा पनि नसकेर मकै खेती नष्ट गर्‍यो। सलह मकै बालीमा आएपछि वडा तथा नगरका जनप्रतिनिधिलाई फोन गर्दा फोन नै नउठाएको पीडा उनले सुनाए। हामी किसानको पीडा कसले सुन्छ र हामी कहाँ गएर रुने, दुख कहाँ पोख्ने?' अहिलेसम्म किसानको बारीमा भएको क्षतिसम्म सोध्न कोही नआएको उनको भनाइ छ।

रोप्‍ने बेलाको बिउ खाइदियो

खेतमा रोपी सकेको धान र रोप्न तयार भएको धानको बिउसमेत सलहले खाइदिएको किसानको गुनासो छ। सलहको क्षतिबाट विक्षिप्त बनेका अर्का किसान रेमबहादुर रावतले बताए। मकै बारीमा पसेपछी नौ रोपनीमा लगाएको मकै खेती नष्ट गरेको उनको भनाइ छ।

सिमल पानीका किसान कबिराम भाट भन्छन् ,'१६ रोपनीमा लगाएको तरकारी खेती सलहले नष्ट गरेको छ। बारीमा सिमी ,बोडी, काउली, करेलो ,भान्टा, फर्सि , खुर्सानी सलहले खाएर लाखौं रकम बराबरको क्षती भएको छ।' अहिले सम्म कुनै निकाय बाट राहत पाउन नसकेको उनले गुनासो गरे।

 

सलह पस्नेबित्तिकै धुँवा लगाउन सुझाव

किसानको बारीमा सलहले मकैबाली नष्ट गरेको पटक-पटक जानकारी गराउँदा पनि जिल्ला कृषि ज्ञान केन्द्रले नहेरेको किसानले गुनासो गरेका छन्। जिल्ला कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख दिवेशकुमार मिश्र भन्छन् , 'सलह आएको भोलिपल्ट जिल्लाका सबै स्थानीय निकायका प्रमुखहरूसँग छलफल गरिएको छ। धेरै ठाउँबाट किसानका गुनासा आएको छ।' प्रयाप्त किटनाशक औषधि पनि नभएको र प्राकृतिक रुपमा बिभिन्न प्रजातिका पक्षीहरुले सलहलाई खाएर नियन्त्रण हुने उनको दाबी छ। सलह पसेको देख्नेबित्तिकै आगोको धुवाँ लगाउने, थाल वा टिनको ठूलो आवाज आउने गरी बजाउन उनको सुझाव छ।

सलह समाते किलोको २० रुपैयाँ दिने

प्रदेशभर ५ का सबै जिल्लामा सलह फैलिएको कृषि मन्त्रालयले जनाएको छ। तर, सलह नियन्त्रणका लागि किलोको २० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले किसानको सलहले ठूलो रुपमा क्षति गर्दासमेत अर्को नियन्त्रणको उपाय खोज्न सकेको छैन। प्रदेश ५ का तराई तथा पहाडी जिल्लामा सलह पुगेर किसानको मुख्य मकैबाली र धान खेती नष्ट गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.