पार्टी फुटाउन खोज्‍नेहरु एक्लिने जिकिर

|

काठमाडौं : पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन्।

पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्वादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन्। पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ। 

नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन्। बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उहाँले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए। नीतिलाई प्राथमिकतामा राखेर अगाडी बढेमा समस्या समाधान हुने उनले बताएका छन्। 

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधान भएर अगाडी बढ्दा यस्तो समस्या आएको बताइन्। व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरु अगाडी नबढेको भए यस्तो समस्या नआउने उनले बताइन्। विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने उनले बताइन्।

अर्का सदस्य जगन्‍नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरु सल्बलाउन लागे उनीहरु एक्लो पर्ने बताए। पार्टी विभाजनको सोच राख्‍नेहरुले सपना देखे पनि एक्लै हुने जिकिर गर्दै उनले पार्टी पङ्क्तिलाई कुनै क्षति नपुग्‍ने दाबी गरे। 

खतिवडाले कार्यकर्ताहरूलाई नडराएर पार्टी एकताको पक्षमा वकालत गर्न आग्रह गरे। सबै समस्याको समाधान सम्बाद र विधानको पालना गरेर निस्किने उनले बताए।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्‍ने पक्ष बलियो हुँदै गएको छ। मदन जन्म जयन्तीका अवसरमा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरु समेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टी भित्र विवाद बढेको हो। 

स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आएका छन्। सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरि आउने आशंका नेकपा नेताहरुले गरिरहेका छन्। दुई अध्यक्ष बीचमा छलफलका लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्म स्थगित भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.