तर गुटगत स्वार्थकै कुम्लो बोकेर खुमलटार र बालुवाटार

|
फाइल फोटो

काठमाडौँ : अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो ढिपी र अडान नछाडेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजन हुनबाट जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। 

अहिले नेकपामा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच शक्ति संघर्ष टकराएको छ। प्रधानमन्त्रीसँग रुष्ट बनेका अध्यक्ष दाहाल-नेपाल एकजुट भएका छन्। दाहाल-नेपालको मोर्चाबन्दीले पनि प्रधानमन्त्री ओलीलाई टसमस पार्न सकेको छैन। बरू बालुवाटारबाटै उनले पार्टी विभाजन भएपनि आफू पछि नहट्ने जोखिमपूर्ण अभिव्यक्ति दिएका छन्। 

सरकारको कार्यशैलीमाथि नागरिकस्तरबाट भइरहेको चर्को आलोचना खेप्न नेकपालाई धौ-धौ परेको छ। सरकार र पार्टीभित्र ओली र उनी पक्षका नेता/कार्यकर्ताहरूको व्यवहार ठीक नभएको र यसले पार्टीलाई निकै क्षति पुगिरहेको भन्दै हाल जारी स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागिरएको छ।

विवाद सल्टिनुको साटो झन् बढेपछि जारी स्थायी कमिटीको बैठक स्थगित गरेर नेताहरु आन्तरिक गृहकार्यमा जुटिरहेका छन्। दोस्रो तहका नेताहरूले यो विवादमा आफ्नो भूमिका देखाउन खोजेका पनि छन्। तर यी नेताहरू पनि बालुवाटार खुमलटारमा आ-आफ्नो गुटगत स्वार्थ लिएर जाने गरेको नेकपास्रोत बताउँछ। अविश्वासको प्रस्ताव ल्याउन लागेको भनी प्रधानमन्त्री ओलीलाई मिथ्या जानकारी दिएर संसद् अधिवेशन अन्त्य गराउन पनि दोस्रो तहका भनिएका केही नेताहरूकै भूमिका रहेको नेकपाका एक नेताले बताए। 

राजीनामा मागेको माग्यै

अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन्। तर, शुक्रबारको छलफलमा ओलीले अध्यक्ष दाहालसँग राजीनामाबारे छलफल गर्न नसकिने भन्दै बाँकी विषयमा कुरा गर्न तयार रहेको बताए। 

दाहाल-नेपाल-गौतम पक्षले राजीनामा मागिरहँदा प्रधानमन्त्री ओलीले पनि आफु निकटका नेताहरुसँग आन्तरिक छलफल र परामर्श तारन्तार गरिरहेका छन्। ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार ओली अहिले ईश्वर पोखरले, विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्बाङलगायत नेताहरुसँग बाक्लो छलफल र परामर्शमा छन्।​ प्रधानमन्त्री ओलीले आफ्ना अडानबाट पछि नहट्न जिकिर गरिहेपछि अध्यक्ष दाहाल र नेता नेपालबीच शनिबार बिहानैदेखि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छन्। 

स्थायी कमिटीदेखि वार्तास्थलसम्म

पार्टीभित्रको विवाद मिलाउने भन्दै नेकपाको दोस्रो तहका नेताहरू स्थायी कमिटी बैठकदेखि दुई अध्यक्षबीच भएको वार्तासम्म उपस्थित देखिएका छन्। ओली र दाहालबीच शुक्रबार भएको वार्तामा पनि महासचिव बिष्णु पौडेल र स्थायी कमिटी जनार्दन शर्मा उपस्थित भएका थिए।

तर नेकपाकै नेताहरूले सो उपस्थितिलाई दुई अध्यक्षको प्रतिनिधिको रूपमा अर्थ्याएका छन्। नेकपाभित्र विष्णु पौडेललाई ओलीपक्षका नेताका रूपमा चिनिन्छ भने जनार्दन शर्मा पूर्व-माओवादी नेता हुन्। 

निर्णायक वार्तामा सहभागि भएका नेता शर्माले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नफुट्ने जिकिर गरेका छन्। ‘म दृढताका साथ भन्छु पार्टी फुट्दैन, फुटाउन दिइँदैन’ उनले लेखेका छन्‌, ‘पार्टीको विषयमा अध्यक्षद्वयले के गर्लान्‌ भनेर बस्ने अवस्था रहेको छैन।’

पार्टीभित्रको विवाद चर्कंदै गएपछि सहमतिबाट नै विवाद समाधान गर्नुपर्नेमा जोड दिइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। ‘पाटीभित्रको विवाद चर्कँदै गएपछि हामीहरू सहमतिको लागि शुक्रबार र शनिबार दिनभर खटियौँ, समाधान गर्न लागिपरेका छौं,' उनले भने, ‘हामीले पार्टी एकता जोगाउन जोड दिएका छौँ, पार्टी फुट्दैन, छलफलबाट समाधान निकाल्छौँ।’

स्थायी कमिटीका अर्का सदस्य हरिबोल गजुरेल पनि पार्टीभित्र देखिएका समस्या छलफलमार्फत समाधान गरेर एकताबाट अघि बढ्ने पक्षमा रहेको बताउँछन्। ‘समस्या समाधानको लागि दुवै पक्षले आफ्नो अडान कसेपछि समाधानको निस्कँदैन, त्यसैले अध्यक्षद्वयले त्यस विषयमा केही सोच्न आवश्यक हुन्छ’ उनले भने। 

यस्तो पहल

टकरावका कारण पार्टी नै विभाजनको अवस्थामा पुगेपछि शीर्ष नेतृत्वमाथि दोस्रो पुस्ताका नेताहरुले दबाव बढाउन थालेका हुन्‌। शुक्रबार बिहान कृषिमन्त्री घनश्याम भुसालको निवासमा बसेको भेलाले नेतृत्वलाई पार्टी एकताको जगलाई टेकेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएको थियो। 

पार्टीलाई विभाजन हुनबाट रोक्न भन्दै नेकपा केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालयमा धर्ना कार्यक्रम समेत राखेका थिए। केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार सो धर्नामार्फत शीर्ष नेताहरूलाई समस्या समाधानको विकल्प खोज्न दबाब दिइएको थियो।

केन्द्रीय सदस्यहरुले शनिबार पनि पार्टी विभाजन विरुद्ध खबरदारी कार्यक्रम राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.