मन्त्री गुरुङ भन्छन् : पार्टी विभाजन गर्ने छुट कसैलाई छैन

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधान गर्न दोस्रो र तेस्रो तहको नेताहरुले दबाव बढाउन थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षको कारण उत्पन्‍न विवाद मिलाउन तेस्रो तहका नेताहरु सक्रिय भएका हुन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको टकराबको कारणले पार्टी विभाजनको अवस्थामा पुगेपछि केन्द्रीय सदस्य र सांसदले पनि शिर्ष नेतालाई दबाव दिनको लागि प्रदेशस्तरीय कार्यक्रम तय गरेका छन्।

पार्टीभित्र विवादित समाधानको लागि सबै शिर्ष नेता निकटका नेताहरुको संलग्नतामा देशव्यापी दबाव अभियान चलाउन लागेको हो। महिला बालबालिका समाजकल्याण तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको संयोजन ७ वटा प्रदेशमा एकताका लागि दबाव बढाउने अभियान चलाउने निर्णय भएको हो। 

शनिबार भएको बैठकमा मन्त्री गुरुङसहित केन्द्रीय सदस्य तथा सांसदहरु गणेश पहाडी, खिमलाल भट्टराई, यज्ञराज सुनुवार, लीलानाथ श्रेष्ठ, झपट रावल, टेकबहादुर बस्नेत, सुरेश राई, कमला रोक्का, श्याम श्रेष्ठलगायत नेताहरु सहभागी भएका थिए। 

पार्टी विभाजन गर्ने छुट कसैलाई छैन

जनताले यतिधेरै विश्वास गरेको बेलामा कोरोनाको संकटको बेलामा पार्टी विभाजन गर्ने छुट कसैलाई नभएको मन्त्री गुरुङले बताए। ‘अहिले पार्टीभित्र समस्या देखिएका छ। तर, यस्तो संकटको बेलामा सरकारमा रहेको पार्टीभित्र विवाद चुकिएर फुट्नु राम्रो होइन’ उनले थाहाखबरसँग भने, ‘शीर्ष नेताहरु बीचको विवाद साम्य गर्नका लागि हामीले दबाव दिन लागेका हौँ।’ 

पार्टीभित्रको विवाद शीर्ष नेताहरुले छलफलबाट तत्कालै लगाउनुपर्नेमा जोड दिए। ‘हाम्रो उद्देश्य यस्तो होइन। हामीमाथि जनताको अपेक्षा कार्यकर्ताको उस्तै दबाव छ। तर, शीर्ष नेताहरु बीचको विवाद कम भएको छैन,’ उनले भने, ‘तत्काल समस्या समाधानको बाटो खोज्नेलाई आग्रह गछौँ।’

निर्णय लिएर जाँदै मन्त्री गुरुङ

पछिल्लो समय पार्टीभित्रको विवाद बढ्दै गएपछि तल्लो तहबाट शीर्ष नेताहरुलाई दबाव बढिरहेको छ। ‘हामीले पनि दबाबस्वरुप गरेका निर्णयलाई मेरो आफ्नौ संयोजनमा अध्यक्षद्धय र नेता नेपाललाई जानकारी गराउन जाँदैछौँ’, उनले भने, ‘आज बैठक बसेर निर्णय गरेका छौँ। भोलिसम्म शीर्ष नेताहरुलाई हाम्रो कार्यक्रमको बारेमा जानकारी गराउन टिम नै जान्छौँ।’

दबाव बढाउँदै

पार्टीभित्रको विवाद समाधान गर्नका लागि शीर्ष नेतामाथि दिनप्रतिदिन दबाव बढ्दै गएको छ। दोस्रो तहका स्थायी कमिटी सदस्यहरुले शुक्रबार बिहान कृषि मन्त्री घनश्याम भुसालको पुल्चोकस्थित सरकारी निवासमा भेला भए। उनीहरुले पार्टी एकताको जगलाई टेकेर तत्काल समाधानको बाटो खोज्न आग्रह गरे। भुसालले शुक्रबार नै ओली र दाहाल दुवैलाई ११ भाइको भेलाको तीन बुँदे निचोड सुनाएका थिए।

यस्तै, शुक्रबार दिउँसो केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालयमा धर्ना कार्यक्रम गरे। विजय पौडेल, हिमाल शर्मा, ठाकुर गैरे, रामप्रसाद सापकोटा, रामकुमारी झाँक्रीसहित ५० बढी केन्द्रीय सदस्यहरुले पनि पार्टी एकता जोगाउन दबाब दिएका थिए। पार्टी एकता जोगाउनका लागि देशभर दबाव कार्यक्रम आजबाट सुरु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.