|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो। मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो। असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए। १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो।

उनी मधुमेहका दीर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो। यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए। क्षयरोगका बिरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो। असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ जना पुगेको छ। प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा भएको परीक्षणमा ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा भएको परीक्षणमा १५ जना, भरतपुर अस्पताल प्रयोगाशाला चितवनमा भएको परीक्षणमा १३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा भएको परीक्षणमा ५  जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा ७ जना र दैलेखमा प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए।

पिसिआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण भएको छ। सार्कराष्ट्रमध्ये मध्ये कोरोना परीक्षण दरप्रति १० लाखमा भारत श्रीलंका पाकिस्तान भन्दा नेपाल अगाडी रहेको उनले बताए।

अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा ३३ हजार १ सय २५ जना रहेका छन्। विभिन्न अस्पतालका आइसोलेसनहरुमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ। शनिबार २ सय ७१ जनासँगै आजसम्म ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.