शनिबारै राष्ट्रपतिसँग पनि परामर्श

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता जटिल मोडमा पुगेको बताएका छन्। शनिबार राति सरकारी निवास बालुवाटारमा आफ्नो क्याबिनेटका मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्दै उनले यस्तो बताएका हुन्। 

बालुवाटारबाट बाहिरिएपछि एक मन्त्रीले दिएको जानकारी अुनसार प्रधानमन्त्रीले दुई पार्टी मिलेर बनेको नेकपा संकटमा परेको कुरा राखेका थिए। 'पार्टी एकता जटिल मोडमा पुगेको छ। यसबारेमा तपाईंहरु पनि जानकार हुनुहुन्छ', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एकजना मन्त्रीले थाहाखबरसँग भने, 'यो अवस्थामा तपाईंहरुले पनि सोचीविचारी कदम चाल्नु होला, निर्णय लिनु होला।'

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले समसामयिक विषयमा मन्त्री र राज्यमन्त्रीसँग छलफल भएको छ। त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए। उनले सम्भावित राजनीतिक कदम र संवैधनिक व्यवस्थाबारे राष्ट्रपतिसँग परामर्श लिएको बताइएको छ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निरन्तर घेराबन्दी गरेपछि प्रधानमन्त्रीले केही दिनयता छलफल र बैठकलाई तीव्र बनाएका छन्।

उनले बालुवाटारमै आफूनिकट पार्टीका नेता, जनवर्गीय संगठनका पदाधिकारीसहितसँग परामर्श गरिरहेका छन्। दाहाल-नेपाल पक्ष कुनै पनि हालतमा दुवै पदबाट बहिर्गमन गराउने अडानमा रहेपछि ओलीले मन्त्रीहरुसँग सम्भावित कदमबारे छलफल गरेका हुन्। 

आफू नेतृत्वको सरकारमाथि नै चुनौती आइ लागेपछि ओलीले मन्त्रीहरुसँग परामर्श गरेका हुन्। उनले पार्टी विभाजन, संसद विघटन र अन्य राजनीतिक कदमसहितका सबै किसिमका विकल्पमा यसबीचमा छलफल गरिसकेका छन्।

उता नेकपाको विवादले पार्टी विभाजनको अवस्थामा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा सचिवालयका ६ सदस्यसहितका स्थायी कमिटी सदस्यहरुको पनि शनिबारै बैठक भएको छ।

खुमलटारमा भएको भेलामा पार्टीलाई फुटबाट कसरी अगाडि बढाउन सकिन्छ भन्‍नेबारेमा छलफल भएको बताइएको छ। ‘जारी स्थायी कमिटी बैठकमा अब कसरी अगाडि बढ्ने भन्‍नेबारेमा छलफल भएको हो। उहाँहरुले पार्टी फुटलाई जोगाएर कसरी अघि बढ्ने भन्‍नेबारेमा छलफल गर्नुभयो’ खुमलटार स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीको कारणले अब स्थायी कमिटीको बैठक रोक्न नहुनु धारणा राख्नुभएको छ।’

पार्टी विभाजनको अवस्थामा पुग्दा समेत प्रधानमन्त्री ओली आफ्नो अडानबाटपछि नहटेपटि शनिबार दिउँसो अध्यक्ष दाहाल निवासमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ, जनार्दशन शर्मासहितका नेता भेला भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.