मन्त्रीहरुलाई कुन कित्तामा उभिने हो, निर्णय लिन आग्रह

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउन भइरहेको तयारीबारे प्रमाण आफूकहाँ आइपुगेको बताएका छन्। 

नेकपाभित्र विवादले उग्ररूप लिइरहेको अवस्थामा मन्त्री र राज्यमन्त्रीहरूलाई शनिबार साँझ बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मका गम्भीर राजनीतिक षड्यन्त्र भइरहेको प्रमाण आफूले फेला पारेको बताएका हुन्।

उनले राष्ट्रपति र आफू विरुद्ध पनि गम्भीर राजनीतिक षडयन्त्रको पर्याप्त सूचना पाएपछि प्रतिवादमा उत्रनुपरेको बताएका छन्। 'राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने सम्मको तयारी सहित साथीहरु बसेर छलफल भइरहेको सूचना मकहाँ आइपुगेको छ', उनले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै भने, 'म विरुद्ध पनि राजनीतिक षड्यन्त्र भइरहेको भेटेको छु। त्यसको सामना गर्न डटेर जुटेको हुँ। त्यसलाई रोक्न र सामना गर्नका लागि म पनि तयार छु।'

प्रधानमन्त्रीले ब्रिफिङका क्रममा राष्ट्रियता, पार्टी एकता र कम्युनिष्ट आन्दोलनको पक्षमा हुने सबै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन्। 'म पार्टी एकताको पक्षमा छु, कम्युनिष्ट एकता कायम गरेर अघि बढ्नुपर्छ', उनले भने, 'तर त्यस विपरीतका कुनै पनि कदमलाई मेरो साथ रहने छैन।'

उनले आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको भन्दै त्यसबारेमा प्रष्ट हुन पनि मन्त्रीहरुलाई आग्रह गरे। ‘म विरुद्ध षडयन्त्र भइरहेको छ। राष्ट्रपतिविरुद्ध अहिले षड्यन्त्र भइरहेको सूचना र प्रमाण मसँग छन्। यस्ता षडयन्त्रहरूलाई मैले 'बाइफोर्स', 'बाइस्टेप' नियन्त्रणमा लिनुपर्ने अवस्था आउन सक्छ', ब्रिफिङका क्रममा उनले भने, 'यदि त्यस्तो अवस्था आएमा मन्त्रीजीहरुले पनि निर्णय लिनुपर्ने हुन्छ। त्यो अवस्थामा मैले तपाईंलाई कुन कित्तामा भनेर सोध्न सक्छु। अनि तपाईंहरुले आफ्नो निर्णय लिएर कुन पक्षमा उभिने हो तपाईंहरुले कदम चाल्नुपर्ने हुन्छ।'

मिल्न सकिन्छ

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मिल्न सकिने अवस्था रहेको पनि बताएका छन्। उनले अहिले पार्टीमा देखिएको विवादबारे बोल्दै बरु एकता महाधिवेशन फागुनको साटो मंसिरमै गर्न सकिने पनि बताएका छन्। 'मिल्न नसक्ने कुरै छैन। मिल्ने धेरै विकल्पहरु छन्', उनले भने, 'यो विवादलाई अघि बढाएर जानु राम्रो हुँदैन। तर एउटा निर्वाचित व्यक्तिलाई बीचमै हट् भन्‍नु कसरी राजनीतिक मानिएला? बरु महाधिवेशनलाई केही महिना अगाडि नै गरौं। प्रक्रियामा गएर म नेतृत्व हस्तान्तरण गर्न तयार छु।'

स्थायी कमिटीमा गडबडी भयो

ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले हाल बालुवाटारमै बसिरहेको स्थायी कमिटीको बैठकको तय भएका एजेण्डा भन्दा फरक विषयमा डाइभर्ट भएको बताए। 'स्थायी कमिटीका लागि जुन एजेण्डा तय गरिएको थियो। तीभन्दा फरक विषयमा बैठक डाइभर्ट भयो', ओलीको भनाइ उद्धृत गर्दै एकजना मन्त्रीले भने, 'प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी अध्यक्षसमेत छाड्न कुरा अघि बढाइयो। जुन कुरा बैठकको एजेन्डामै थिएन, त्यही कुरा उछालेर मसहित राष्ट्रपतिलाई पनि घेराबन्दी गर्ने कोशिश भयो, त्यही भएर म सामना गर्न उत्रिएको हुँ।'

उनले बैठकमा बोल्ने क्रममा नेताहरुले आफ्नो अपमान गरेको पनि गुनासो गरे। 'साथीहरुले बोल्दा पनि मर्यादाको ख्याल गरेनन्। भाषा र शब्द पनि उपयुक्त थिएनन्', उनले भने,'स्थायी कमिटी एजेन्डाभन्दा बाहिर गइसक्यो। एजेण्डामा छलफल नै हुन पाएको छैन।'

सत्यको पक्षमा लडिरहन्छु

प्रधानमन्त्रीले भारतले मिचेको भूमि समेटेर नक्सा जारी गरेपछि आफूमाथि झन् पार्टी भित्रैबाट आक्रमण सुरु भएको बताएका छन्। 'नयाँ नक्सा जारी गर्न संविधान संशोधन गर्‍यौँ। त्यो गर्दा पनि हामीले एक मत हुने गरी राष्ट्रको पक्षमा उभियौँ। त्यो राम्रो पक्ष थियो', उनले भने, 'आज हामी त्योभन्दा अघि बढिरहँदा पार्टी भित्रैबाट घेराबन्दी भएको छ।'

उनले आफू सधैं सत्यको पक्षमा लडिरहने बताए। 'म सत्यको पक्षमा लडिरहन्छु। असत्य सामू कदापि झुक्दिनँ', उनले भने, 'कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्छ। पार्टी एकतालाई बलियो बनाउनुपर्छ। तपाईंहरु प्रष्ट हुनुस्, म सदैव राष्ट्रियताको पक्षमा लाग्छु।'

निर्णायक मोड आयो

ओलीले पार्टीभित्रको विवादले निर्णायक मोड ल्याउन लागेको पनि बताए। 'अहिले भइरहेको पार्टीभित्रको विवादलाई र मैले भनेका कुरालाई सही विश्लेषण गर्नुस्', उनले भने, 'परिस्थिति के हो? विश्लेषण गरेर समर्थन गर्नुस्। म तपाईंहरूलाई आफ्नो विवेक अनुसार अघि बढ्नुस् भन्छु। स्वविवेक प्रयोग गर्नुस् र सत्यको पक्षमा उभिनुस्।' मन्त्री घनश्याम भूषाल र बर्षमान पुनले प्रधानमन्त्री ज्यूमा पुगेका कतिपय सूचना भरपर्दो नभएको हुन सक्ने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.