सोलुखुम्बु : बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब तीन टन आरु बोटमै कुहिएर खेर गएको छ। केन्द्रमा उत्पादन हुने आरु प्रशोधन गर्ने प्रविधि नहुँदा बर्सेनि कुहिएर खेर जाने गरेको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले बताए।
‘बागबानीमा लगाइएको करिब ७० बोटबाट उत्पादन हुने करिब तीन टन आरु प्रशोधन गर्ने उपयुक्त प्रविधि नहुँदा यत्तिकै खेर जाने गरेको छ,’ निमित्त प्रमुख ठाकुरले भने, ‘प्रविधि भित्र्याउन नसक्दा फाल्नुको बिकल्प छैन।’
मौसम अनुकूल भएमा बागबानी क्षेत्र भ्रमणमा आउनेहरुले नै केही मात्रमा खरिद गरेर लाने गरेको ठाकुरले बनाए। तर, यस वर्ष निरन्तर वर्षात र लकडाउनका कारण अवलोकनकर्ता समेत कम आए। ‘एकातिर मौसमका कारण अवलोकनकर्ता भ्रमणमा आएनन् भने अर्कोतिर कोरोनाका कारण बजारसम्म पु¥याउन सकिएन,’ उनले भने, ‘टिप्ने सिजनमा वर्षात हुँदा पनि यतिकै कुहिएर गयो।’
आरुबाट जाम, वाइन र जुसलगायतको परिकार बनाउन सकिने भए पनि बागबानी केन्द्रमा हालसम्म उक्त प्रविधि भित्रिएको छैन। हिमाली जिल्ला सोलुखुम्बुमा बागबानीका साथै निजी जग्गामा समेत आरु खेती गर्ने गरिएको छ।
कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्क अनुसार कुल ४५ हेक्टर क्षेत्रफल आरु खेती योग्य जमिनमध्ये ३५ हेक्टर क्षेत्रफलमा हाल उत्पादन भइरहेको छ। कार्यालयका निमित्त प्रमुख कुलबहादुर राईका अनुसार कृषकले उत्पादन गरेको आरुले राम्रै बजार पाएको छ। कृषकले प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्छन् भने बागबानी केन्द्रमा प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्ने गरिएको छ। यसरी हेर्दा यस वर्ष बागबानीमा मात्रै करिब ९० हजार रुपैयाँ बराबरको आरु खेर गएको छ।
यहाँको स्थानीयबाहेक अन्य बजारसम्म पुर्याउन नसक्दा समेत आरु खेतीबाट मनग्य आम्दानी लिन नसकेको किसानहरु बताउँछन्। कृषिमा आधुनिकीकरण गर्ने सरकारको नीति भए पनि गाउँगाउँमा उत्पादन हुने यस्ता प्रकारको खेती प्रणालीलाई समय अनुसार परिणत गर्न नसक्दा समस्या भएको किसान दोर्जी शेर्पाले बताउँछन्।
फलफुल खेतीको सम्भावना राम्रो भए पनि सरकारले दिने अनुदान कनिका छरेझै हुँदा परिणाम देख्न नसकिएको थुलुङदुधकोशी–९ का किसान सुर्ज तामाङले गुनासो गरे। ‘अनुदानको नाममा २० हजार रुपैयाँ दिन्छ,’ तामाङले भने, ‘अब प्रक्रिया मिलाएर लिन आउन र जानको लागि मात्रै १० हजार खर्च हुन्छ, अब केबाट काम गर्नु?’ बजेट निर्माण गर्दा के कस्तो परिणाम आउँछ भन्ने पूर्वअनुमान गरिनुपर्ने किसानको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।