|

बैतडी : कोरोना भाइरसको नमुना परीक्षणको समयमै रिपोर्ट नआउँदा बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिक धमाधम घर जान थालेका छन्। एक महिनासम्म समेत रिपोर्ट नआएपछि उनीहरु घर जान थालेका हुन्।

क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएको र स्वाब संकलन गरेर पनि समयमै रिपोर्ट नआएकाहरु घर गएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनीहरुलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरिएको भट्टको भनाइ छ। उनका अनुसार लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज हो।

आरडिटी पोजेटिभ आएका नागरिकहरुको स्वाब संकलन गरेर पठाएकोमा रिपोर्ट आउन ढिलाई भएका नागरिक घर फर्केका हुन्। रिपोर्ट ढिलो आउँदा घर फर्केका नागरिकहरुमा कोरोना पुष्टि भएपछि खोजबीन गरेर आइसोलेसनमा राख्नुपर्ने बाध्यता आइलागेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। उनले भने, ‘महिना दिनसम्म समेत रिपोर्ट नआउँदा स्थानीयहरुलाई घर पठाउन बाध्य भएका हौं।’

समयमै रिपोर्ट नआउँदा आरडिटी पोजेटिभ देखिएकाहरु मानसिक रुपमा समेत कमजोर हुँदै गएका मल्लादेही स्वास्थ्य चौकीका इन्चार्ज हेमराज भट्टले बताए। 

बैतडीका विभिन्न क्वारेन्टाइनमा अहिले ७०० भन्दा बढी नागरिक बसिरहेका छन्। तीमध्ये करिब ५०० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। 

कोरोना परिक्षणका लागि सुदूरपश्चिममा एउटा मात्रै सरकारी प्रयोगशाला रहेकाले रिपोर्ट समयमै नआउने गरेको हो। यस प्रदेशमा धनगढीमा मात्रै एउटा प्रयोगशाला रहको छ। प्रदेश सरकारले गत चैत १५ गते कैलाली, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भए पनि अझै कार्यान्वयन हुन  सकेको छैन। एउटा मात्रै प्रयोगशाला हुँदा नमुना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए।

सबै स्थानीय तहमा कोरोना

बैतडीमा कोरोना संक्रमितको संख्या २७५ पुगेको छ। यस जिल्लाका सबै स्थानीय तहमा संक्रमण पुगेको छ।

स्वास्थ्य कार्यालयका अनुसार दशरथचन्द नगरपालिका ३४, पञ्चेश्वर गाउँपालिकामा ५०, शिवनाथ गाउँपालिकामा ४८ , दोगडाकेदार गाउँपालिकामा ४३, सिगास गाउँपालिकामा ३६, मेलौली नगरपालिकामा २४, सुर्नया गाउँपालिकामा १४, पाटन नगरपालिकामा १२, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा ७÷ ७  जनामा संक्रमित रहेका छन्।

संक्रमितमध्ये ७२ जनामात्रै आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका २०३ जना घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.