|

बर्दिया : कृषिलाई यान्त्रीकरणमा बर्दियाका स्थानीय तहरूले जोड दिएका छन्। कोरोना भाइरसको महामारीकाबिच रोजगार गुमाएर गाउँ फर्केका युवाहरुलाई लक्षित गरेर कृषिलाई विशेष प्राथामिकतामा राखेको बर्दियाका स्थानीय तहहरुले जनाएका छन्। 

अब गुजारामुखी खेती गरेर मात्रै नहुने भन्दै कृषकहरुलाई व्यवसायिक रुपमा खेती गर्न समेत सुझाब दिइएको छ। बर्दियाका कतिपय कृषकहरूले जग्गा ठेक्कामा लिएर भएपनि व्यवसायिक रुपमा खेती गर्न थालिसकेका छन्।  
कृषि क्षेत्रलाई बलियो बनाउन तथा कृषि उत्पादन बढाउन स्थानीय तहहरुले विभिन्न कार्यक्रम गरि रहेका छन्। बर्दियालाई कृषिको भण्डारको रुपमा पनि लिइन्छ। अधिकांशको पेशा कृषि नै रहेको छ। कृषकलाई कृषिमा आत्मनिर्भर गराउन कृषिका विशेष कार्यक्रम बर्दियाका स्थानीय तहले ल्याएका छन्। 

युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन र कृषिलाई सम्मान सहितको पेशा बनाउन बर्दियाको मधुवन नगरपालिकाले पहल थालेको छ। नगरलाई कृषि हबको रुपमा विकास गर्ने गरी १० वटा ब्लग निर्माणको तयारी नगरले थालेको छ। पहिलो वर्षदेखि नै कृषिलाई विशेष प्राथामिकतामा राखेको र यस बर्ष कृषि झण्डै २ करोड ५० लाख बजेट विनियोजन गरिएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए। 

कृषिमा ६ करोड बजेट विनियोजन 

कोरोना महामारीका कारण धेरै युवाहरु रोजगारी गुमाएर गाउँ फर्किए। बेरोजगार युवाहरुलाई लक्षित गरेर कृषिमा व्यवसायीककरण, यान्त्रिकरण र बिषदी न्यूनीकरणलाई विशेष प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७÷०७८ मा कार्यक्रम ल्याएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।

जसको लागि ठाकुरबाबा नगरपालिकाले बिनियोजन गरेको कुल बजेट मध्येको झण्डै ६ करोड रुपैयाँ कृषिको लागि छुट्याइएको नगरपालिकाको कृषि उपशाखा प्रमुख धुव्रराज बलमे जानकारी दिए। एक गाउँ, एक उत्पादन कार्यक्रमलाई नगरले प्राथमिकतामा राखेको छ। जसलाई कृषि निति बनाएर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाइएको छ। 

यस्तै बर्दियाको बाँसगढी नगरपालिकाले कृषि स्वास्थ्य र शिक्षामा सन्तुलित रुपमा बजेट छुट्याएको छ। कृषि लक्षित कार्यक्रम अन्तरगत ३ करोड बजेट छुट्याएको बाँसगढि नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले बताए । 
बाँझो जग्गा उपयोग कार्यविधि स्वीकृत 

बर्दियाको बारबर्दिया नगरपालिकाले बाँझो जग्गा उपयोग कार्यविधि समेत स्वीकृत गरिसकेको छ । नगरमा सयौँ विघा जमिन बाझो रहने गरेको पाइएको छ, बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले भने, उक्त जग्गा अब बाँझो राख्न पाइने छैन। 

जग्गा बाँझो राखेको पाइएपछि नगरपालिकाले पहिला जग्गा धनिलाई उक्त जग्गामा उत्पादन गर्न तथा कसैलाई उत्पादन गर्न दिन अनुरोध गर्ने छ। ३० दिन भित्रमा उत्पादन कार्य नथालेमा अथवा कसैलाई उत्पादन गर्न नदिएमा नगरपालिका आफैले उक्त जमिनमा उत्पादन कार्य सुरु गर्ने उनले बताए। 

केही वर्ष अघिसम्म कृषिमा युवाहरुको आकर्षण घटेको देखिन्थ्यो। यसै कुरालाई मध्येनजर गर्दै अहिले स्थानीय तहहरुले कृषिमा युवाहरुको आकर्षण बढाउनको लागि युवा कृषि सहकार्य कार्यक्रम तयार पारेका छन्। व्यवसायिक कृषिमा लगानी गर्न चाहने युवालाई कृषि अनुदान दिने कार्यक्रम समेत ल्याइएको छ। 

यस्तै बारबर्दिया नगरपालिकामै धान संकलन प्रशोधन र बजारीकरण गर्ने गरी कृषि उद्योग यसै बर्ष स्थापना गरिने जनाएको छ। जस्ले गर्दा कृषकले उत्पादन गरेको धान बिक्रीमा समस्या हुने छैन्। 

३५ प्रतिशत अनुदानमा कृषि औजार वितरण 

ठाकुरबाबा नगरपालिकाले कृषिलाई यान्त्रीकरणका लागि कृषकहरुलाई अनुदानमा पावर टिलर तथा टिपर उपलब्ध गराएको छ। कृषि विकास उपशाखाद्वारा आयोजित एक  कार्यक्रममा नगरका १८ जना कृषकहरुलाई पावर टिलर तथा १० जना कृषकहरुलाई टिपर उपलब्ध गराएको हो। 

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले ३५ प्रतिशत अनुदानमा १८ थान पावर टिलर, १० थान टिपर लगायतका कृषि औजार कृषकहरुलाई बितरण गरे। ६५ प्रतिशत कृषकहरुले नै बेहोर्ने गरी नगरपालिका अन्तरगतका छनोटमा परेका कृषकहरुलाई उक्त पावर टिलर उपलब्ध गराएको कृषी उपशाखा प्रमुख धुव्रराज बलमे जानकारी दिए।

कृषि शाखाले कृषकहरुलाई आबेदन दिनका लागि ३५ दिने सुचना जारी गरेको थियो। उक्त समयमा नगरका ६० जना कृषकहरुले आबेदन दिएका थिए। त्यसमध्येबाट मापदण्ड पुरा गरेका कृषकहरु मात्रै छनोटमा परेको जनाइएको छ। 

गत वर्ष अनुदान नपाएका, व्यवसायिक खेती गर्न सक्ने, १० कट्ठा जमीन भएका, लगायतका कृषकहरु छनोटमा परेका कृषि शाखाले जनाएको छ। कृषि यान्त्रिकरण शीर्षकको १५ लाख बराबरको बजेटबाट उक्त कृषी औजारहरु कृषकहरुलाई उपलब्ध गराइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.