|

काठमाडौं :  नेपाली समाजमा व्यक्तिको क्षमतालाई आर्थिक हैसियत र शारीरिक बनावट हेरेर उसको मूल्यांकन गरिन्छ। यो समाजको एउटा विचित्रको रंग हो। जसले कतिपय क्षमता भएका व्यक्तिका लागि निरुत्साहित गर्न क्याप्सुलको काम गरिदिन्छ। यही कारणले पनि उसको क्षमता पानीको फोका जस्तै प्याट्ट फुट्छ। अनि बिलाउँछ।

गायक नवराज कलौनीको जीवनमा पनि यो कुरा लागु भयो। पोलियोबाट ग्रसित उनी विपन्न परिवारमा जन्मिए। उनको परिवारलाई सम्भ्रान्त परिवारले गर्ने व्यवहार सम्झन लायकको थिएन। बाल्यकालमा उनी र उनको परिवार पनि हेपाइको शिकार भयो। कारण थियो - गरिबी र नवराजलाई पोलियो ।

पढाइमा उनी कमजाेर पनि थिएनन्। स्वर मिठो थियो। गीत गुनगुनाइरहन्थे। तर उनलाई महसुस हुन्थ्यो, 'मेराे पढाइ र स्वरलाई पनि मानिसले अपाङ्ता जोडेर दयाकाे भाव राख्छन्।' 

यहाँ जाेकाेही दयाले हाेइन सम्मानले बाँच्न चाहन्छन्। मानिस शारीरिक रुपमा अशक्त हुन सक्छन् तर सबै क्षमता शरीरसँग जोडिँदैनन्। नवराजको मनमा पनि यो सोच आउँथ्याे।गीतप्रतिकाे लगावकै कारण उनी गायक बन्न चाहन्थे। आफूलाई हेपेर गरिएको व्यवहार देखेर उनले प्रण गरे, 'एकदिन म गायक बनेर देखाउँछु। यो हेपाइलाई सम्मानमा बदल्छु।'

डडेलधुरामा जन्मिएका उनी परिवारसँग कन्चनपुर बसाइ सरे। बुबाले चिया पसल खोलेका थिए। उनी बिहान-बेलुका चिया पसलमा काम गर्थे। उनको पढाइ राम्रो हुँदै गयो। बिस्तारै उनको स्वरलाई मन पराउनेहरू थपिँदै गए। जब उनी ७ कक्षामा पुगे। एक दिन उनलाई स्टेजमा गीतमा गाउने अवसर मिल्यो। गीत सुनेपछि सबैले उनलाई गायक बन्न हौस्याए। जसले  ऊर्जा मिल्थ्याे उनलाई

सुदूरपश्चिममा मेला महोत्सव हुँदा गीत गाउने अवसर मिल्छ कि भन्दै गोजीमा गीतको ट्रयाक बोकेर उनी पुगिहाल्थे। तर उनलाई पत्याउने मान्छे कोही हुँदैन थिए। मेला महोत्सवमा गाउने रहर हुन्थ्यो तर, संचालकले विश्वास गरिहाल्दैन थिए। त्यो विश्वास निर्माण गर्न पनि आफ्नो क्षमता विकास गर्नुपर्ने उनले बुझेका थिए। मञ्चमा गीत गाउन नपाउँदा उनले हिम्मत भने हारेनन्।

आफूसँग क्षमता छ भने कुनै न कुनै दिन गीत गाउने अवसर मिल्न सक्ने उनले बुझेका थिए। कहिलेकाहीँ उनले मञ्च उक्लिने अवसर पाउँथे। त्यस दिन उनी आफूलाई संसारकै ठूलो भाग्यमानी ठान्थे। उनी ती दिन सम्झिन्छन्, 'मिहिनेत गर्नेको सम्भावना खुला हुन्छ। त्यो सम्भावनाको ढोका खोल्न आफ्नो प्रयास कति रहन्छ भन्ने हो। कसैको पहिलो प्रयासमा नै सम्भावनाको ढोका खोल्न सक्छ। कसैको सम्भावनाको ढोका खोल्न वर्षौं लाग्छ। तर, हार भने मान्नु हुँदैन।'

मञ्चमा अर्काको गीत गाउँदा पुन उनलाई खल्लो लाग्न थाल्यो। सधैं अरुको गीतमा स्वर भरेर मात्र गायक बनिँदैन। टेको लगाएको रुख टेको निकालेपछि भुइँमा पछारिनु स्वाभाविक हो। कलाकारितामा पनि ठिक त्यस्तै हो। जबसम्म आफूले गीत निकालेर दर्शकको मन जित्न सकिन्न भन्ने बुझेका नवराज स्‍नातक सक्नेबितिक्कै गायक बन्ने सपना बोकेर काठमाडौंको रात्रि बसको टिकट काटे।

ब्याचलर पढ्दा ताका अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको कैलाली र डडेलधुराको क्षेत्रमा सामाजिक परिचालकको रुपमा काम गर्थे। त्यहाँ काम गर्दा कमाएको पैसा जोगाएको थिए। उनी भन्छन्, 'मलाई संगीतमा लगानी गर्ने हैसियत परिवारसँग थिएन। तर, मनमा समाजको हेपाइको इख र अलिकति पैसा थियो। यी दुई चीज बोकेर म काठमाडौं ७१ सालमा आएको थिएँ।'

काठमाडौं आएपछि उनी एकातिर त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यमा मास्टर्स पढ्न लागे। भने अर्कोतर्फ गीत रेकर्ड गर्न लागे। 'मन ढुंगो' बोलको गीत रेकर्ड जाँदा उनको स्वर चिप्लियो। न साधना न त अध्ययन। गाउँ पाखामा गुनगुनाएर एक दुई जनाले मन पराउँदैमा स्टुडियोमा गीत गाउन सकिँदो रहेनछ। उनले थाहा पाए, 'गायन चानचुने कुरा होइन् रहेछ। यसका लागि अध्ययन र साधना जरुरी रहेछ।'

उनले गीत रेकर्ड छोडेर साधना कला केन्द्र, राष्ट्रिय नाचघर र आरम्भ म्युजिक स्टुडियोमा तीन वर्ष संगीत सिके। अध्ययनले उनमा आत्मविश्वास थपियो। अनि रेकर्ड गरे पहिलो गीत 'मनको ढुङ्गो'।

उनले आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गरे। ७४ सालमा गीत सार्वजनिक गरे। त्यसपश्चात् उनले लगातार गीत लेखन, संगीत र स्वर भर्ने क्रम जारी राखे। आजसम्म उनले दुई दर्जन गीत रेकर्ड गरिसकेका छन्। उनका गीत दर्शकले मन पराइरहेका छन्। सुरुमा त आफूलाई  गीत गाउन सक्छु जस्तो नलागेको उनी बताउँछन्। संगीतमा लागेका कैयौं साथीहरू उनका साथीहरू थिए। उनीहरुले हिम्मत दिएको उनी सम्झिन्छन्। उनी भन्छन्, ' काठमाडौंमा भेटिएका साथीहरूले कहिल्यै मलाई निरुत्साहित गरेनन्। म ती साथीहरुको ऋणी छु।'

नयाँ गीत सँगसँगै उनले सुदूरपश्चिम भेगका मौलिक शब्द र भाव बोकेका गीतलाई फ्युजन गर्छन्। पुराना गीतलाई पनि केही मोडिफाई गरेर नयाँ पुस्तामाझ पुर्‍याउने काम गरिरहेका छन्। उनी भन्छन्, 'पुरानै गीतलाई पनि समयानुकूल परिमार्जन गरेका गीतहरु नयाँ पुस्ताको रोजाइ हुने भएकोले पुराना अग्रज स्रष्टाको अनुमतिमा नयाँ प्रयोग गर्ने जमर्को गरिरहेको छु।'

उनका गीतमा सामान्य तथा आधुनिक, लोकपप,लोक विधामा आधारित छन्। एउटै जनरामा हुँदा सर्जक संकुचित हुने उनको बझाइ छ।

हरेक सिकाइको सिँढी हुन्छन्। एकैपटक शिखर कोही पुगेको छैन। सिकाइको सानो सानो फ्याक्टर सफलताको मानक हुन्। त्यो सफलता कति मिल्यो भन्दा पनि आफू यस क्षेत्रमा लागेकाे कुनै असन्तुष्ट रेखा छुन नपरेको नवराजको अनुभव छ। 

संगीतलाई न्याय गर्न सक्ने क्षमता भएका नवराजले जीवनमा संघर्षको पहाड चढे । अनगिन्ति कठिनाइका बाबजुद सांगीतिक क्षेत्रमा संघर्षशील छन्। 'मैले संगीत क्षेत्रमा अझै मिहिनेत गर्न जरुरी छ। तर, संगीतले मलाई आफ्नो मिहिनेत अनुसारको नाम दिएको छ। सबैभन्दा ठूलो कुरा त समाजमा आमाबुबालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ। हिजो टाढिन खोज्नेहरु आज नजिक हुन खोजेका छन्', उनले सन्तुष्टिको भाव प्रकट गर्दै कुराको बिट मारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.