|

काठमाडौं : जोरपाटीस्थित सेन्टेनिअल माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक यमप्रसाद ढकाल हिजोआज धेरै चिन्तामा छन्,‘स्कुलबाट तलब पाउन सकेको छैन। अब कसरी परिवार र आफ्नो पेट पाल्ने?’ १८ वर्षदेखि शिक्षा क्षेत्रमा रहँदै आएका ढकाल अहिले निराश छन्। सोच्दै नसोचेको समस्या यस वर्ष उनले भोग्न बाध्य भए। चैत महिनाबाट उनको हातमा पैसा परेको छैन।

लकडाउन लम्बिँदै गएपछि उनी झनै चिन्तामा छन्। उनी भन्छन्,‘लकडाउनले बन्द भएका  स्कुल अहिलेसम्म खुल्न सकेका छैनन्। त्यसैले करिब तीन महिना भयो तलब पाउन सकेका छैनौँ। जसले गर्दा परिवार पाल्न गाह्रो भइरहेको छ।’ उनका अनुसार चैत सम्मको तलब पाएका छन।

उनले यस्तो संकटमा काम र दाम दुवै नपाएको र सरकारले केही सहयोग गर्न नसकेको भन्दै गुनासो पोखे। लकडाउन अझै लम्बिए गुजारा चलाउन मुस्किल पर्ने  दुखेसो सुनाए।सरकारले निजी विद्यालयका लागि राहत प्याकेज ल्याउन नसके सरकारले विद्यार्थीबाट थोरै भए पनि शुल्क लिने वातावरण बनाउनुपर्ने उनको माग छ। 

काम र दाम दुवै पाइएन

यस्तै, बौद्ध, आनन्दपुरमा रहेको  जिएस स्कुलमा पढाउँदै आएकी शिक्षिका उर्मिला अधिकारीको पनि समस्या उस्तै छ। झनै लकडाउन लम्बिँदै गएकाले उनी चिन्तित छिन्। उनले भनिन्,‘तीन महिनादेखि  काम र दाम दुवै पाइएको छैन।'

सरकारले सबैको समस्या बुझेर स्कुल खोल्ने वा राहत दिने भन्ने विषयमा निर्णय लिनुपर्ने उनको तर्क छ। यी दुई शिक्षक उदाहरण मात्रै हुन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) का अनुसार देशभरका दुई लाख शिक्षक कर्मचारीको हातमुख जोड्न अहिले समस्या भएको छ। तर, पनि सरकारले राहत प्याकेजबारे अहिलेसम्म ठोस निर्णय लिन सकेको छैन। 

सरकारले राहत नदिए तलब खुवाउन सक्दैनौँ : प्याब्सन

लामो समयदेखि स्कुल बन्द भएकाले शिक्षकलाई तलब दिन नसकेको निजी स्कुलका सञ्चालक बताउँछन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले सरकारले बेवास्ता गरेकै कारण शिक्षकहरु भोकै बस्न बाध्य भएको बताउँछन्। सरकारले राहत प्याकेज नल्याएसम्म शिक्षकलाई तलब दिन नसक्ने उनको भनाइ छ।

लामो समयदेखि सबै स्कुल बन्द छन्। बाँकी रहेको शुल्क पनि सरकारले उठाउन दिँदैन। अहिले केही हाम्रो आम्दानी छैन। त्यसैले शिक्षकहरूलाई पाल्न सकेका छैनौँ।’ शिक्षक, कर्मचारीको समस्यालाई बुझी सरकारले राहत प्याकेज ल्याउनुपर्ने उनको माग छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.