सेनाका चार र सशस्त्रका चारजनामा पनि पुष्टि

|

काठमाडौं : संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएका छन्। आइतवार एकै दिन ३० जना संक्रमित भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।

आइतवार सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै धेरै २७ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी ललितपुरमा २ जना र भक्तपुरमा एकजना संक्रमित भेटिएका छन्। 

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार आइतवार काठमाडौं उपत्यकामा भेटिएका अधिकांश संक्रमित विभिन्‍न अस्पतालका हुन्। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट काठमाडौं जिल्लाका २१ जना संक्रमित भेटिएका गौतमले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका छन्। 

उनका अनुसार वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकजना संक्रमित भेटिएका छन्। त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुईजनामा पनि संक्रमण भेटिएको छ।

कहाँ कति भेटिए? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टायता भेटिएका संक्रमितमा १५ पुरुष र १५ महिला छन्। तीमध्ये काठमाडौं उपत्यकाका विभिन्‍न अस्पतालमा रहेका २१ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार आइतवार भेटिएका संक्रमितमा ४ जना नेपाली सेना र ४ जना सशस्त्र प्रहरी अस्पतालका रहेको खुलेको छ। अन्य एकजना संक्रमित बूढानीलकण्ठ नगरपालिका निवासी छन्। 

यी अस्पतालमा  संक्रमित

आइतबार स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि गरेकामध्ये सशस्त्र प्रहरीको युनिफाइड हस्पिटल बलम्बुमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यसैगरी वीरेन्द्र अस्पताल छाउनीमा १ जना पुरुष पनि संक्रमित भएका छन्। मन्त्रालयका अनुसार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ३ जना पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ। केही साताअघि पनि ह्याम्समा कोरोना संक्रमित भेटिएका थिए। 

मन्त्रालयले आइवार साँझ सार्वजनिक गरेको विवरणमा रिङ रोडस्थित इशान चिल्ड्रेन अस्पतालमा १ जना महिला संक्रमित भएकी छन्। त्यसैगरी जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा दुईजना महिलामा संक्रमण देखिएको छ। अर्कातिर बाँसबारीस्थित न्यूरो अस्पतालमा २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। 

महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा ५ महिला र १ पुरुष संक्रमित भेटिएका छन्। शिक्षणमा यसअघि पनि कोरोना संक्रमित भेटिएका थिए। त्यहाँ उपचारपछि फिरेकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाबाट ज्यान नै गएको थियो। 

पानी पोखरीस्थित नेपाल पुलिस अस्पतालमा २ जना महिलामा संक्रमण देखिएको छ। अर्कातिर चाबहिलसथित दीघार्यु गुरु अस्पतालकी एक महिलामा पनि संक्रमण देखिएको छ। रिङ रोडस्थित चिरायु अस्पतालकी एकजना महिलालाई पनि संक्रमण देखिएको छ।

सेनालाई कोरोना 

मन्त्रालयको विवरणमा नारायणहिटी दरबारभित्र तैनाथ चारजना सेनाका जवानमा पनि कोरोना देखिएको छ। जस अनुसार नारायणहिटीस्थित गोरखबहादुर गणका ४ जना सैनिकमा कोरोना पुष्टि भएको हो। अर्कातिर सशस्त्र प्रहरीका चारजनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

आइतवारै सार्वजनिक विवरण अनुसार बूढानीलकण्ठ नगरपालिका निवासी एकजना पुरुषमा पनि कोरोना देखिएको छ। मन्त्रालयले यो संक्रमणबारेमा विस्तृत केही भनेको छैन। काठमाडौंमा कोरोना संक्रमण समुदायमा गए नगएकोबारेमा मन्त्रालयले अहिलेसम्म केही पनि बोलेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.