|
प्रतीकात्मक तस्बिर

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–५  गल्दाका देवबहादुर विकले असार ५ मा क्वारेन्टाइनमा बसेकै अवस्थामा आत्महत्या गरे। गत जेठ २५ मा भारतबाट आएका विकको मृत्युपछि कोरोना संक्रमण समेत पुष्टि भयो।

यस्तै, दाङको तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी एलिसा गौतमले फेसबुक लाइभ गरेर आत्महत्या गरिन्। प्रहरीले घर खोजेर घटनास्थल पुगिसक्दा कोठाको पङ्खामा झुण्डिएकी २३ वर्षीया गौतमको मृत्यु भइसकेको थियो।

असार १७ मा रोल्पाको गंगादेव गाउँपालिका–३१ वर्षीय एभान सार्कीले पनि क्वारेन्टाइनमै झुण्डिएर आत्महत्या गरे। मृत्युपछि स्वाब परीक्षण गर्दा उनको पनि कोरोना पुष्टि भयो। युएईबाट आएर क्वारेन्टाइनमा बसेको उनको पनि आत्महत्याको कारण खुल्न सकेको छैन। 

लकडाउनको अवधिमा प्रदेश ५ मा भएका आत्महत्याका केही घटना हुन्।
गत चैत ११ देखि जेठ मसान्तसम्म प्रदेश ५ मा ३१६ जनाले आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।असारमा भएका आत्महत्याले यो संख्या अझै बढेर गएको छ।प्रहरीको तथ्यांकअनुसार चैतमा ६९, वैशाखमा ११७ र जेठमा १२७ वटा आत्महत्याका घटना भएका छन्।

प्रदेश ५ प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार बैदवारले पारिवारिक कलह, गरिबी र मनोसामाजिक समस्याले आत्महत्या गरेको देखिने बताए। आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन्।

लकडाउनको अवधिमा आत्महत्या गर्नेमा १६ वर्षमुनिका २६ जना, १६ देखि २५ वर्ष उमेर समूहका ९१ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ८९ जना, ३६ देखि ४५ वर्ष उमेर समुहका ५२ जना, ४६ देखि ६० वर्ष उमेर समूहका २८ जना र उमेर नखुलेको एकजना छन्।

प्रहरी उपरीक्षक बैदवारका अनुसार गरिबी र अभावको कारण आत्महत्या गर्नेको संख्या धेरै रहेका छन्। तीन महिनामा १४४ जना किसानले आत्महत्या गरेका छन्। जसमध्ये चैतमा ३९, वैशाखमा ४४ र जेठमा ६१ जना छन्। 

त्यस्तै, गृहिणी ४३ जना, मजदुर ४३, विद्यार्थी २९, वैदेशिक रोजगारबाट आएका छजनाले पनि आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.