|

तनहुँ : कोभिड-१९ संक्रमण फैलिएसँगै देश अहिले लकडाउनकै अवस्थामा छ। लकडाउनको अवधिमा केही ठाउँमा खुकुलो हुँदै गएको छ। तर, लकडाउनकै अवस्थामा सार्वजनिक जग्गाको बगैँचा मास्नमा व्यस्त देखिन्छन् बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधि।

बन्दीपुर गाउँपालिका–२ र ४ को सिमाना पर्ने ढाड खोला मोटरमार्गलाई असर पारेको भन्दै सार्वजनिक जग्गामा रहेको आँपको बगैँचा काटिएको छ। बन्दीपुर–२ पिप्ले अन्तर्गतको उक्त मोटरमार्गमा कालोपत्रे गर्दा समस्या हुने भन्दै रूखहरू काटिएको हो। त्यस जग्गाको माथिल्लो भाग भने उक्त वडाका वडाध्यक्षको फार्म सञ्चालनका लागि बोर्ड राखिएको छ।

सार्वजनिक जग्गा नै हो : वडाध्यक्ष

वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले सार्वजनिक जग्गा भएको स्वीकार गरेका छन्। तर, मापदण्ड अनुरुपको सडक निर्माणमा बगैँचाले अवरोध हुने भएपछि काटिएको लामिछाने बताउँछन्। ‘मोटरमार्ग कालोपत्रे गर्नमा बगैँचाले समस्या भएको र फराकिलो पार्न समस्या हुँदा काटिएको हो, वडाका सबैको सहमतिमा बगैँचा काटिएको हो,’ उनले भने।

तर, बैठक बसेर सहमति नगरी रूख काटिएको र स्थानीय बताउँछन्। गोप्य रुपमा मिलाइएको भनिए पनि त्यसो नभएको वडावासी बताउँछन्।

के भन्छ वन कार्यालय?

डिभिजन वन कार्यालय बन्दीपुर इकाईका अधिकृत सुरेश कुमार भुजेलले नेपालको संविधानले स्थानीय  तहलाई त्यस विषयमा निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको बताए। भुजेलले भने, ‘स्थानीय तहले सार्वजनिक जमिनमा भएको रूख काट्न पाउने अधिकार रहेको छ, काठ काटेर वडा वा स्थानीय तह बाहिर लैजान पाउने अधिकार भने छैन, बाहिर लगिएको थाहा पाएमा मात्रै कारबाही गर्न मिल्छ, यस विषयमा वडाले निर्णय गर्न पाउने अधिकार हुन्छ।’

स्थानीय चिन्तित

उक्त स्थानमा बगैँचा राख्‍नका लागि २०७४ मंसिर २७ गते र.नं.१८९९० रहेको र नापी अधिकृत दीपक कुमार सापकोटा र सर्वेक्षक तथा टोली प्रमुख माधव कुइँकेल लगायतको टोलीले त्यस ठाउँको बस्ती स्थानान्तरण गरेको थियो।

त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई २०७१ मा स्थानान्तरण गरी २०७२ मा जग्गा धनी पुर्जासमेत वितरण गरिएको थियो। सोही ठाउँको सार्वजनिक जग्गामा अहिले वडाध्यक्षले फार्म बनाउन लागेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.