'जनताले हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्‍न म्यान्डेट दिएका हुन्'

|

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रस्ट पारेको छ। सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले यस्तो बताएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा नजाने बताएको हो। 

प्रवक्ता विश्व प्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भए पनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए। 

प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्र्दभमा उनले भने, ‘यो या त्यो परिस्थिति उत्पन्न भए पनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ। तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ।’

‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ। प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन्। कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन् विगतमा तर त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ। तर अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ, किनकि जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन्।’

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताए। जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनीभूत ढंगले निर्वाह गर्ने उनले बताए।  सरकारले गरेका राम्रा कामहरुको समर्थन र कमजोरी गर्दा औला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.