|

दाङ : लिखित किर्ते गरेको आरोपमा वडा सचिव सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जबरजस्ती करणी मुद्दामा प्रतिवादी मणि कुमार पुनलाई  बढी सजाय गराउने मनसायले पीडित केटीको उमेर घटाउने कार्यमा किर्ते गरेको आरोपमा घोराही १८ रझेना निवासी ५५ वर्षीय घोराही उपमहानगर १ का वडा सचिव धनबहादुर केसी र घोराही १३ निवासी हाल सोही वडामा खरिदार पदमा कार्यरत ५४ वर्षीय लिलाजित नेपाली समातिएका हुन्।

उनीहरुका साथै घोराही १३ हेलो टावर नजिक बस्ने ४९ वर्षीय हुकुम बहादुर जिसीलाई पनि सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरुले २०५९ सालको जन्म मितिलाई सच्याएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

साथै दाङ देउखुरी जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उमेर घटाएको तथ्य पीडक युवक पक्षले फेला पारेपछि दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए। सोही आधारमा अनुसन्धानका लागि दुई सचिवलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दाका अभियुक्त युवक पुर्पक्षका लागि थुनामा छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.