|

भक्तपुर : भक्तपुरमा सोमवार एकैदिन किरिया बसेकी महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगैँ भक्तपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ।

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार सोमवार भक्तपुरमा थपिएका संक्रमितहरु मध्ये भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र चाँगुनारायण नगरपालिकाका ४÷४ जना र २ जना सूर्यविनायक नगरपालिकाका हुन।

चाँगुनारायण नगरपालिकाका ४ संक्रमित मध्ये एक जना किरिया बसेकी महिला भएको चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। पतिको मृत्युपछि किरिया बसीरहेका बागेश्वरीका महिलामा कोरोना पुष्टि भएको उनले बताए। 

पतिको उपचारका लागि अस्पतालमा कुरुवा बसेकी ती महिलामा अस्पतालबाटै कोरोना संक्रमण भएको हुन सक्ने नगरप्रमुख मिश्रले जानकारी दिए। संक्रमित महिलाका पति क्यान्सर पिडित भएको र उनको उपचारका क्रममा ६ दिन अघि मृत्यु भएको थियो। 

किरियामा रहेकी संक्रमित महिलालाई घरमै आइसोलेसन गरेर राखिएको र परिवारका अन्य सदस्यहरुलाई पनि घरमै क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै नगरप्रमुख मिश्रले किरिया सकिएपछि उपचारका लागि अस्पताल पठाइने बताए। उनको स्वास्थ्य सामान्य रहेको छ।

चाँगुनारायण नगरपालिकाका थपिएका ४ मध्ये एक जना लामो समयदेखि काठमाडौंको चावहिलमा बस्दै आएका व्यक्ति भएको नगरप्रमुख मिश्रले बताए। त्यसैगरी अर्का व्यक्ति नेपाल वायुसेवा निगमका पाइलट भएको र उनी काठमाडौंको सोल्टी होटलको क्वारेन्टाइनमा बस्दै आएका छन। चाँगुनारायणका अर्को संक्रमित पाटन अस्पतालमा उपचार गराइरहेका बिरामी भएको नगरप्रमुख मिश्रले जानकारी दिए।

त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत थप चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि पनि सो अस्पतालको डे केयर युनिटमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो।

क्यान्सर अस्पतालमा कार्यरत ४ संक्रमित कर्मचारीहरु मध्ये तीन जना भक्तपुर नगरपालिकाका बासिन्दा हुन। संक्रमितहरु भक्तपुर नगरपालिका वडा नं. २ इताछें बस्ने २४ वर्षिय युुुवक, ब्यासीका २९ वर्षिय र वडा नम्बर ९ च्याम्हासिंह बस्ने ३३ वर्षिया युवती हुन। त्यसैगरी एक जना उपत्यका बाहिर स्थायी घर भई भक्तपुर डेरा गरी बस्ने महिला भएको जनाएको छ।

सूर्यविनायक नगरपालिकाका दुई जना मध्ये एक जना बालकोट र अर्को सल्लाघारीको भन्ने जानकारी आए पनि अन्य विस्तृत विवरण आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए। 

संक्रमितहरुको बसोबास स्थल सिल गरेर कन्ट्याक्ट ट्रेसिङको कार्य थालिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए। उनले उपत्यकामा जोखिम बढेकाले माक्स लगाउन र सेनिटाइजरको प्रयोग गरी सामाजिक दुरी कायम गर्न सर्वसाधरणमा अनुरोध गरेका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.