धनकुटा : गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ।
गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन। जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए।
गीतमा धनकुटाका संकृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए। धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाइ छ।
गीतको अडियो केहि समय अघि तयार भएपनि भाव अनुसारको छायाँकन तथा सम्पादन कलाकार उमेशचन्द्र अधिकारीले यसै हप्ता तयार पारेका हुन्।
छायांकनपछि पहिलो पटक गीतलाई साहित्यकार झमक घिमिरेले औपचारिक सार्वजनिक गरेकी छिन। घिमिरे निवासमा आयोजित गीत सार्वजनिक कार्यक्रममा उनले भुगोल, भाषा, कला, संस्कृति र पहिचानको लागि गीतले समेटेको लिखित प्रतिक्रिया दिइन। उक्त अवसरमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँ, सहसचिव गीता अधिकारी, हाम्रो बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेल लगायतले शुभकामना दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।