नागरिकता विधेयकबारे साझा रणनीति बनाइँदै

|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको छलफल भएको छ। छलफलमा वर्तमान राजनीतिक घटनाक्रमबारे र सरकारको कार्यशैलीमा छलफल भएको छ।

जसपाका नेता राजेन्द्र महतोले थाहाखबरसँग भने, ‘जनता कोरोनाले आक्रान्त भएको बेला केपी ओली र उसको पार्टीका मान्छे कसरी सत्तामा टिकिराख्ने र कुर्सी जोगाउने भनेर लागेको छ। अब यसरी बसेर हुँदैन प्रतिपक्षी दलहरुले सरकारलाई काम गर्न दबाब दिनुपर्छ भनेर हामीले आज देउवाजीसँग भेट गरेका हौँ ।’   

छलफलमा संसद अधिवेशन अन्त्य गरिएको विषयमा पनि छलफल भएको पनि उनले बताए। ‘जहाँ जनताको कुरा राखिन्छ त्यही संसदको अधिवेशन एकाएक बन्द गरिएको छ,’ उनले भने, ‘जनताको कुरा, समस्या सम्बोधन हुने थलो नै बन्द गरेर अझै ओलीजी राष्ट्रवादको कुरा गरिराख्नु भएको छ।’

नागरिकता विधेयकको विषयमा पनि सामान्य छलफल भएको देउवानिकट स्रोतले बतायो। ‘नागरिकता विधेयकको विषयमा अब कसरी प्रस्तुत हुने भनेर पनि छलफल भएको छ’, देउवा स्रोतले भन्यो। 

अंगीकृत वैवाहिक नागरिकतामा सात वर्षे प्रावधान तत्कालै फिर्ता लिएर अहिले संविधानमा भएको व्यवस्थालाई नै कायम गर्न कांग्रेस र जसपाका सांसदहरुले सरकारलाई दबाब दिइरहेका छन्।

नेकपाले र संसदीय समितिले भने विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निर्णय गरिसकेका छन्। नागरिकता विधेयक अहिले संसदमा छ। महतोले नागरिकता विधेयक संविधानको मर्म विपरीत ल्याइएको पनि बताए।  

बूढानीलकण्ठमा भएको भेटवार्तामा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला सहभागी थिए। जसपाको तर्फबाट उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राई सहभागी भएको देउवाका स्वकीय सचिव भानु देउवाले थाहाखबरलाई जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.