|

स्याङजा : स्याङजाको हरिनाश गाउँपालिकामा १८ वटा विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन विस्थापित गर्दै एकीकृत क्वारेन्टाइन निर्माण गरिएको छ। अभिभावक, शिक्षक र विद्यार्थी तथा समुदायहरू कोरोना रोगसँग त्रसित हुने गुनासो आएपछि पालिकाले आफ्नै भवन अगाडीको खेलमैदानमा ६० शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरेको हो। 

विद्यालयमा क्वारेन्टाइन निर्माण गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र समुदाय त्रसित हुने गुनासो आएपछि गाउँपालिकाकै १० रोपनी क्षेत्रफलमा सुविधासम्पन्न एकीकृत क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए। स्वास्थ्य, सरसफाइ तथा इन्टरनेटको सुविधा सहज भएको बताउँदै मानन्धरले भने, ‘पहिला १८ वटा विद्यालयमा क्वारेन्टाइन राखेका थियौँ, एक ठाउँको समस्या समाधान गर्न घण्टौँ लाग्ने गर्दथ्यो, अहिले समस्या आउने बित्तिकै तत्काल समाधान गर्न सहज भएको छ।’

टिन र ट्रस्ट प्रयोग गरी बनाइएको ३० वटा कोठामा ६० जनासम्म अट्न सक्ने क्षमता रहेको छ। गाउँपालिका केन्द्रकै खेलमैदानमा निर्मित क्वारेन्टाइनमा छुट्टाछुट्टै नुहाउने धारा, शौचालयको प्रयोग, फरक-फरक कोठा पाएपछि यहाँ बस्ने व्यक्तिहरूले सुरक्षित महशुस गरेका छन्। कतारमा कोरोना संक्रमण भई उपचारपछि स्वदेश फर्किएका र स्वदेश आइसकेपछि पुन: क्वारेन्टाइन एक युवाले विदेश र यहाँको क्वारेन्टाइनमा धेरै फरक महशुश गरेको बताए। उनले भने, ‘विदेशमा कोरोना भन्दा त्रसित हुने अवस्था थियो, नेपालमा भने क्वारेन्टाइनमा गरिने व्यवहारले हौसला र उर्जा थपिएको महशुस भएको छ।’

अहिले हरिनाशको क्वारेन्टाइनमा १८ जना बस्दै आएका छन् भने जिल्लाभरको क्वारेन्टाइनमा ३११, होम क्वारेन्टाइनमा १८ जना र आइसोलेशनमा ११९ जना रहेका छन्। हालसम्म दुई हजार ११४ जनाको पिसिआर परीक्षण गरिएकोमा १८२ पुरुष र ६ महिलाको पोजेटिभ आएको छ। जिल्लामा हालसम्म दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.