|

जुम्ला : सिंजा गाउँपालिकाले लागतभन्दा दोब्बर मूल्यको रसिद बनाई राहतका नाममा स्थानीयलाई खानै नसक्ने तीतो चामल वितरण गरेको छ। राहतका नाममा घोटाला भएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन्‌।

​स्थानीय धर्मचन्द्र धितालका अनुसार सरकारी बजेट सिध्याउनकै लागि गाउँपालिकाका पदाधिकारीहरूले ९०० रुपैयाँमा पाइने चामललाई १८ सय रुपैयाँ तिरेको रसिद बनाएका छन्‌। राहत लिन गएका अधिकांश स्थानीयले चामलको स्वाद परीक्षण गर्दा निकै तीतो पाएपछि त्यत्तिकै छाडिदिएका छन्‌। केही स्थानीयले चामल ल्याएपनि पकाउँदा लिटोजस्तो बनेको र स्वाद पनि तीतो रहेको बताएका छन्‌। 

चामलको प्याकेटमा उपभोग्य मिति अझै आठ महिना बाँकी रहेको उल्लेख छ। राहतमा घोटालाबारे जिज्ञासा राख्दा सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले यसको जिम्मा खाद्य संस्थाले नै लिनुपर्ने बताए।

उनले भने, 'वितरण गरिएको चामल अखाद्य छ भने नखान हामी स्थानीयलाई अनुरोध गर्छौं, आवश्यक पर्नेलाई राहत वितरण गर्न फर्म भरेर र प्रकृया पुर्‍याएरै अघि बढेका हौं, सिंजाको धाँपामा रहेको गोदामबाट ५० लाख रुपैयाँको चामल किनेका हौं, अधिकांशले खाएका छन्‌, तर केहीले विरोधका लागि विरोधमात्रै गरेका हुन्‌।' आफूहरूले चामलसँगै तेल, नुन र साबुन पनि वितरण गरेको उनले बताए। ​

गाउँपालिका अध्यक्ष रावलले राहतमा घोटाला नभएको दावी गरेपनि स्थानीयले प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने बताएका छन्‌। राहत भन्दै गाउँपालिकाले बाँडेको चामल खानै नसकिने तीतो स्वादको भएको स्थानीयको भनाई छ।

गाउँपालिकाले यसअघि पहिलोपटक नगद राहत वितरण गरेको थियो। दोस्रो पटक पालिकाले आफैंले खाद्यान्न किनेर वितरण गरेको हो। पालिकाका १, २, ३, ४ र ५ का गरी करिब २०० स्थानीय राहत लिन पुगेको, तर गोदाममा चामलको स्वाद परीक्षण गर्दा तीतो रहेको पाएपछि रित्तो हात फर्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.