विमानस्थलको सुरक्षाका लागि सिसिएमसीलाई पत्र

|

काठमाडौं : नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना पुष्टि भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उच्च सुरक्षा अपनाएर उडान गर्ने भएको छ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्बार गर्न चार्टर्ड उडान भइरहेकाले नेपाल वायुसेवा निगमका कर्मचारीमा कोरोना देखिएपछि उच्च स्वास्थ्य सुरक्षा विधि अपनाएर मात्र उडान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विदेशबाट आएका नेपाली तथा विदेशी नागरिकलाई उच्च स्वास्थ्य सुरक्षा विधि अपनाएर मात्र बाहिर जाने वातावरण निर्माण गर्न लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनले भने,'स्वास्थ्य सुरक्षाको दृष्टिकोणले विमानस्थलमा सम्पूर्ण विधि अपनाइएको छ। उडान अवतरण भएको १ एक घण्टामा यात्रु बाहिर निकाल्ने गरिएको छ।'

विमानस्थल बन्द गर्ने निर्णय सरकारबाट

विमानस्थलका कर्मचारीमा कोरोनाको जोखिम बढदै गएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने, नगर्ने त्यो सरकारको जिम्मा रहेको उनले बताए। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटीलाई विमानस्थल स्वास्थ्यको दृष्टिकोणले उच्च जोखिम बढेकाले यस विषयमा के भनेर पत्र पठाइसकेको उनले जानकारी दिए।

३० देखि ४० यात्रुको सामाजिक दूरी बनाएर मात्र निकाल्ने काम भइरहेको उनले बताए। विमानबाट यात्रु ओर्लिएपछि पनि बसमा नियमित उडान जस्तो यात्रुलाई नल्याएको उनले जानकारी दिए। बसबाट ल्याउँदा पनि सामाजिक दूरी कायम गरी ल्याइरहेको महाप्रबन्धक केसीले थाहाखबरलाई बताए।

विदेशबाट आएका नागरिकको सम्बन्धित मुलुकले गरेको पिसिआर परीक्षणको प्रमाणपत्रको आधारमा मात्र विमानस्थलबाट बाहिर जान दिइरहेको उनको भनाइ छ। विदेशबाट पनि नेपालीको कोरोना परीक्षण गरेर पठाउने गरेको उनले प्रष्ट पारे।

बाहिरिने क्रममा हरेक नागरिकको थर्मल गनले तापक्रम परीक्षण गरिरहेको उनले बताए। उनले भने,'जुन देशबाट आएका हुन्, त्यहाँको स्वास्थ्य परीक्षण नियम पालना गरेर आएका हुन्छन्। कतिपय देशले आरडिटी परीक्षण गरेर पठाउने गरेका छन्।'

विमानस्थलमा स्वास्थ्य मन्त्रालयका कर्मचारी खटिएर मापदण्ड अनुरुप यात्रुको सामान्य परीक्षण गरिरहेको उनले बताए। कुनै यात्रुमा शंकास्पद केही लक्षण देखिएमा विमानस्थलमा भएका एम्बुलेन्सबाट अस्पताल लाने गरेको उनले जानकारी दिए।

सातै प्रदेशको सम्पर्क केन्द्र राखिएको छ त्यहीँ अनुसार होल्डिङ सेन्टरमा पठाइने केसीले बताए। नेपाली सेनाले विदेशबाट आएका मानिसलाई सम्बन्धित होल्डिङ सेन्टरमा लाने जिम्मा पाएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.