|

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले अलपत्र परेका झन्डै साढे नौ हजार नागरिकलाई निःशुल्क खाना खुवाएको छ। कांग्रेसले ‘एनडी प्रकाश चटौत आपतकालीन भोजन चुलो’ नाम दिएर सञ्चालन गरिएको अभियानअन्तर्गत ९ हजार ४ सय ८१ जनालाई खाना खुवाएको हो।

‘मानवता बचाऔं’ भन्ने नाराका साथ कांग्रेसले वैशाख २७ गतेदेखि उक्त अभियान थालकाे थियो। मंगलबार कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गरी हाललाई उक्त अभियान स्थगित गरेको जनाएको छ। लकडाउन खुकुलो हुनु, खाना खाने व्यक्ति न्यून, पार्टीको अधिवेशनलगायत कारण तत्काललाई अभियान मंगलबारदेखि स्थगित गरिएको पार्टीका कार्यवाहक जिल्ला सभापति करुणाकर भट्टले जानकारी दिए।

खाना नपाएर कुनै पनि नागरिक भोकले छट्पटाउन नपरोस् भनेर आपतकालीन भोजन चुलोको व्यवस्था गरेको थियो। करिब दुई महिनाको अवधिमा यहाँका विभिन्न क्वारेन्टाइनमा पुगेर खाना खुवाएको थियो। लकडाउनको अवधिमा अतिआवश्यक कामको लागि डडेल्धुरा सदरमुकाम आएका आफन्त नभएका तथा क्वारेन्टाइनमा बसेका नागरिकलाई भोजन चुलो संचालनमा आएपछि राहत मिलेको कांग्रेसले जनाएको छ। 

एनडी प्रकाश चटौत आपतकालीन भोजन चुलो अभियानलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कार्यवाहक सभापति भट्टले धन्यवाद दिए। सेवा दलका  संयोजक टंकप्रसाद क्षेत्रीका अनुसार ३७ क्विन्टल ६५ किलो चामल, १४३ किलो दाल, ४० किलो नुन र ९२ लिटर तेल सहयोग प्राप्त भएको थियो। 

जसमा १६ क्विन्टल चामल, २० लिटर तेल, २० किलो नुन र १० पेटी चाउचाउलगायत खाद्यान्न सामग्री मौज्दात रहेको छ । मौज्दात रहेको खाद्यान्न आपतविपदमा परेका नागरिकलाई सहयोग गरिने उनले बताए।

संयोजक क्षेत्रीका अनुसार उक्त अभियान संकलन गर्न २ लाख, ३८ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो। जसमा एक लाख ६५ हजार ९ सय ७० रुपैयाँ खर्च भएको छ भने ७२ हजार ३१ रुपैयाँ बाँकी छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.