|

दमक (झापा) : लकडाउनका कारण सवै शैक्षिक संस्थाहरु ठप्प भएका बेला गौरादह नगरपालिमा भने शिक्षक/शिक्षिकाहरु घरघरमै गएर पठनपाठन गराउन थालेका छन्।

नगरका सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाहरुले विद्यार्थीहरुलाई उनीहरुकै घरमा पुगेर पढाउन थालेका हुन्। शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका र शिक्षकहरु पनि गाउँमै गएर पठनपाठन गराउँदा विद्यार्थीहरुको सिकाइ सहज भएको गौरादह नगरपालिका–८ का प्रदेशी माझी बाताउँछन्। 

कोरोना भाइरसका कारण नेपाल सरकारबाट लकडाउन गरी घरमा बस्न निर्देशन दिएपछि विद्यार्थीहरु विद्यालयमा आई शिक्षा लिनबाट बञ्चित भएका थिए। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत वैकल्पिक शिक्षा प्रणालीबाट विद्यालयका शिक्षकहरुले गाउँ-गाउँमा पुगेर शिक्षण सिकाइ कार्यमा सहजीकरण गरिरहेका हुन्।

घुम्ती टोली परिचालन

गौरादह–८ मा रहेको अरुणोदय प्राविले आफ्नो सेवा क्षेत्रभित्र चार वटा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेको छ। विद्यालयका शिक्षक÷शिक्षिकाहरुले जुरोपानी चोक, भट्टा चोक, दामाबारी चोक र जोरपोल चोकमा केन्द्र बनाएका छन्। विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर लगाई सामाजिक दूरी राखेर पठनपाठन गरिरहेका छन्।

गाउँमा गई पठनपाठन गराउन केही झन्झटिलो भए पनि एउटा गाउँका मात्र विद्यार्थीहरु अध्ययन गर्ने भएकाले सिकाइ प्रभावकारी भएको अरुणोदय प्राविकी शिक्षिका पवित्रा बस्नेत बताउँछिन्।

शिक्षा ऐन २०२८ को दफा १९ क बमोजिम नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि सोहीअनुसार सामाजिक दरी कायम गरी शिक्षकहरुले विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा केन्द्र बनाई घुम्ती शिक्षा सेवा दिइरहेको नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मी बताउँछन्। कोरोना भाइरसको विपद् र महामारी विश्वभर फैलिरहँदा नियमित पठनपाठन गर्न समस्यामा परेका विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइन मार्फत वैकल्पिक शिक्षा प्रणालीअन्तर्गत पठनपाठन भइहेका बेला शिक्षकहरु गाउँमै खटिएका हुन्।

कोरोना भाइरसका कारण विद्यालयहरु बन्द रहँदा वैकल्पिक शिक्षा प्रणालीबाट गाउँमा गएर शिक्षण सिकाइ कार्य गर्दा विद्यार्थीलाई सिकाइ कार्यमा सहज हुनुका साथै विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुने नगर शिक्षा शाखा प्रमुख रेग्मी बताउँछन्। गौरादहमा रहेका सबै सामुदायिक विद्यालयहरुमा गाउँघरमै घुम्ती शिक्षा सञ्चालन उनले जानकारी गराए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.