|

तनहुँ : व्यास नगरपालिकाले भाडामा लगाएको पसल कवलको दुई महिनाको भाडा छुट दिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले व्यवसायीहरू मर्कामा परेकाले चैत र बैशाखको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। यो निर्णयसँगै व्यवसायीहरूले मासिक १३ लाख रुपैयाँका दरले दुई महिनाको २६ लाख रुपैयाँ भाडा छुट पाएका छन्। नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ। 

नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडा छुट दिन आग्रह गरेको छ।  त्यस्तै, बैठकले नगरभित्रका विकास आयोजना एवं प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक वातावरणीय परीक्षण एवं व्यवस्थापन ऐन, २०७७ नगरसभामा पेश गर्ने निर्णय गरेको छ। नगरसभा असार २५ मा हुँदैछ।

नगरपालिकाको बुद्धसिंह मार्गबाट निर्माण सामग्री ढुवानी गर्ने टिपर राति पनि चल्ने र शहरी क्षेत्रमा असुरक्षाको अवस्था सिर्जना भएको गुनासो आएकाले ती सवारीसाधनलाई साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र बजार क्षेत्रका सडकबाहेक राजमार्गमा प्रवेश गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.