|

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानरपालिका भित्रका सार्वजनिक जग्गाको पहिचान गरी त्यस क्षेत्रमा संरक्षण गरी खुला विकास गर्ने र हरियाली प्रवद्र्धन गरी पार्क बनाउने भएको छ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको  संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ।

ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ। ‘काठमाडौं महानगर घना बस्तीले भरिएको शहर हो।

त्यसैले महानगरवासी लाई टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौँ,’ उहाँले भन्नुभयो, ‘हरियाली बढाउनुका साथै  भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौँ अभियानलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/ ०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्कलगायत रहेका छन्।

योजना अनुसार महानगरपालिकाले वडा–१५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा–५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा–१४ को ज्ञानतिर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै  र धोवि खोला दोभानको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उदेश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जानकारी दिए।

‘हरियाली प्रवर्द्धन गर्ने, सहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.