|

पर्वत : कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमित भएका पर्वतका ९० जनामध्ये ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै जिल्लाका कुल सङ्क्रमितमध्ये ५७ प्रतिशतलाई कोरोना निको भएको हो। 

जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार मङ्गलबार २० जना, बुधबार ३ जना र केही दिन अगाडि नै पटक पटक गरेर २८ जना कोरोना निको भएका छन्।

सङ्क्रमण पुष्टि भएपछि पर्वत कोरोना अस्पताल (अस्थायी) मा उपचाररत उनीहरुको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएको हो। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखरामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो। 

मङ्गलबार र बुधबार बिहान नेगेटिभ रिपोर्ट आएकाहरूलाई बुधबार नै कोरोना अस्पतालबाट डिस्चार्ज गरिएको छ। ‘पर्वत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि छिमेकी जिल्लाका नागरिकमा पनि भय उत्पन्न भएको महसुस गरेका थियौँ। डाक्टरलाई त कोरोनाले छाडेन भने हामीलाई के राख्ला? भन्ने प्रश्न नागरिकमा उब्जिएको थियो।’ डा. देवकोटाले भने, ‘सङ्क्रमण भएकामध्ये ५७ प्रतिशतलाई निको भएको छ। आइसोलेसनमा रहेका अन्य संक्रमितमा हालसम्म पनि कुनै लक्षण देखिएको छैन। उहाँहरूको रिपोर्ट पनि नेगेटिभ नै आउँछ भन्ने विश्वास हामीलाई छ।’

स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले पनि पर्वतका संक्रमितमध्ये अधिकांशले कोरोनाले जितेर घर फर्किँदा आम नागरिकले पनि राहतको श्वास फेरेको बताउँछन्। 

९० मध्ये ५१ जना निको भए

छिमेकी भारतसहित तेस्रो मुलुकमा कोरोनाका कारण धेरै नागरिकले ज्यान गुमाएका बेलामा पर्वतका नागरिकमा पनि त्यही भयले सताएको भए पनि बिस्तारै भय हट्दै गएको आफूले पाएको उनको भनाइ छ।

‘जिल्लाका ९० जनामध्ये ५१ जनालाई निको भयो। उहाँहरू कसैमा पनि लक्षण नै नदेखिएर निको भएको हो। यसले जिल्लावासीकाे आत्मबल बढाएको छ। कोरोनालाई जित्न सकिन्छ भन्ने पुष्टि गरेको छ।’ उनले भने, ‘अब क्वारेनटाइनमा रहेकाहरूको संख्या पनि ह्वात्तै घटेको छ। परीक्षणका लागि पठाइएका थोरै मात्रै स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ।’ 

जिल्लामा सबैभन्दा सङ्क्रमणको पुष्टि भएपछि आइसोलेसनमा राखिएकामध्ये सबैभन्दा ढिला ३४ दिनमा कोरोना निको भएको छ। निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाका अनुसार पर्वतमा हालसम्म ११ सय ३६ जनाको पिसिआर परीक्षण गरिएको छ। प्रिक्वारेन्टाइनमा रहेकाको संख्या १ सय ३ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.