१० भारतीय नागरिक पनि फर्किए
१० भारतीय नागरिक पनि फर्किए
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि खुला गरिएको छ। भारतबाट पेन्सन बुझ्ने नागरिकको समस्यालाई ध्यानमा राखेर नेपाल र भारतका स्थानीय प्रशासनहरुको समन्वयमा नाका खोलिएको हो।
यस्तै सीमामा फसेकाहरुलाई स्वदेश फर्काउन, नेपालबाट भारत जान चाहने भारतीय नागरिकलाई भारत फर्काउन नाका खुला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। आगामी शुक्रबारसम्म नाका खुला रहनेछ।
आज पहिलो दिन ७४ जना पेन्सनधारीहरुले झुलाघाट पुगेर पेन्सन बुझी फर्किएका छन् भने सीमा रहेका बैतडीका ११ जना र बझाङका एक जना स्वदेश फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
यस्तै ५ महिला र ५ पुरुष गरी १० जना भारतीय नागरिक पनि सीमानाकाबाट भारत फर्केका छन्। लकडाउनका कारण लामो समयसम्म पेन्सन बुझ्न नपाएका नेपाली नागरिकहरुले नाका खुलेसँगै पेन्सन बुझ्न सुरु गरेका छन्। पेन्सनधारीहरुलाई ज्येष्ठताका आधारमा कुपन बनाएर भारत जान दिने गरिएको छ।
यस्तै दार्चुलाको धार्चुला र जौलजिबी नाका पनि आजदेखि ३ दिनका लागि खोलिएको छ। बैतडीका २ हजार र दार्चुलामा ५ सय नागरिक भारतीय पेन्सनधारी छन्। लकडाउनका कारण सीमानाका बन्द हुँदा चैतदेखि उनीहरुले पेन्सन बुझ्न सकेका थिएनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।