|

दाङ : शान्तिनगर गाउँपालिका-७ दुविचौरका गोविन्द रावतले ३ वर्ष मलेसिया र ४ वर्ष साउदीमा बिताए। तर त्यहाँ बस्दा सोचे जस्तो कमाई भएन। त्यसपछि उनी घर आए।

घरमा जमिन थोरै काम नगरी जीविका चलाउन समस्या हुने! त्यसैले उनी फेरी अर्काे देश जाने सोच बनाउँदै थिए। तर २०७५ सालको अन्तिममा गाउँमा स्मार्ट कृषि कार्यक्रम लागु भयो।

जमिन थोरै भएकाले उनले पहिलो पटक २ टनेलमा तरकारी खेती सुरु गरे। तरकारी खेतीबाट उनले एक सिजनमै करिब ५० हजार रुपैयाँ आम्दानी गरे। त्यसपछि उनले अब विदेश नभई स्वदेश मै पसिना बगाउने सोचका साथ यस वर्ष एउटा टनेल थपेर तीन वटामा टमाटर खेती गर्दै आइरहेका छन्‌।

‘त्यहि जमिनमा पहिले मकै र गहुँ रोप्दा खान समेत पुग्दैनथ्यो,’ उनले भने, ‘तर एउटा टनेलमा गरेको खेतीबाट राम्रो आम्दानी भएको छ, त्यसैले यस वर्ष २ वटा टनेल थपेँ, टनेलमा गोलभेँडाका बिरुवा हुर्कंदैछन्।‌’ प्रदेश सरकारले बिउदेखि टनेलसम्म अनुदान गर्ने गरेको उनले बताए।

गाउँमा १० जना  कृषकहरूले अहिले तरकारी खेती गर्दै आएका छन्‌। ‘यहाँ उत्पादन भएको तरकारी नबिक्ला भन्ने चिन्ता छैन,’ रावत भन्छन्‌, ‘गाहकहरू गाउँमै तरकारी लिन आउँछन्, त्यसरी बेच्दा पनि बाँकी रहे सबैले बजार पठाउँछौ।’

दुविचौरका किसानहरूले सिजन अनुसार टमाटर, खुर्सानी, बोरी, काँक्रा, गोपी र लौकालगायत तरकारी खेती गर्दै आइरहेका छन्‌। तरकारी खेतीमा कुनै समस्या देखिए प्राविधिकहरू गाउँ मै आएर सल्लाह दिने गरेका छन्‌।।

सोही ठाउँका अर्का कृषक मोहनलाल खत्रीले गाउँमा स्मार्ट कृषि कार्यक्रम लागु आफूहरूलाई धेरै खुशी लागेको बताए। ‘पहिला यो जमिनमा धान र मकै खेती गर्दथ्यौँ,’ उनले भने , ‘तर यो कार्यक्रम कार्यक्रम कार्यान्वयनमा आएपछि सोही जमिनमा तरकारी खेती गर्दा आम्दानी राम्रो भएको छ, सरकारले बिउदेखि टनेलसम्म दिएको छ, एउटा टनेलबाट १५/२० हजार रुपैयाँसम्म आम्दानी हुन्छ।’ बजार व्यवस्थापनको पनि समस्या नभएको उनले बताए।

सुरुमा दुईवटा टनेलमा खेती गरेको उनले भने, 'यस वर्ष करिब ४ कठ्ठामा ६ वटा टनेल बनाई खेती गरेको बताए। उनले अहिले सबै टनेलमा टमाटर खेती गरेका छन्‌। गत वर्ष एउटै बोटमा १५ किलोसम्म टमाटर फलेको उनले बताए। ‘यहाँ सिंचाईका लागी पानीको समस्या थियो,’ उनले भने,‘अहिले उक्त कार्यक्रमले करिब २ लाख लिटरको पानी ट्यांकी निर्माण गरिदिएको छ।’

सोही ठाउँका अर्का कृषक ओम प्रकाश शर्माले सुरुमा एउटा टनेलमा तरकारी खेती गरेको बताउँदै आम्दानी राम्रो भएपछि यस वर्ष दुईवटा थपेको बताए। गत वर्ष एउटै टनेलमा खेती गर्दा ३५ हजार रुपैयाँजति आम्दानी भएको भन्दै उनले गाउँमा यो कार्यक्रम लागु भएपछि आय आर्जनमा सहज भएको जानकारी दिए।

दाङ निर्वाचन क्षेत्र ३ (ख) का स्वर्गीय प्रदेश सभा सदस्य उत्तर कुमार वलीको पहलमा उक्त गाउँमा २०७५ देखि ४ वर्षका लागी स्मार्ट कृषिगाउँ कार्यक्रम सुरु भएको हो। अहिले उक्त गाउँमा ६ समुहमा ६० जना कृषकहरू कृषि पेसामा लागेको उक्त कार्यक्रम संयोजक दुर्योधन वलीले बताए। ५० विगाह जमिनमा व्यवसायिक तरकारी खेती गर्न आवद्ध बनाउने र किसानहरूको आयआर्जन बृद्धि गर्नको लागी यो कार्यक्रममा लागु भएको उनको भनाई छ।

यो कार्यक्रम लागु भएपछि पहिलो वर्ष १५ जना किसानले ३० वटा टनेल बनाई तरकारी खेती गरेका थिए। कार्यक्रमको लागी प्रदेश सरकारले कृषि ज्ञान केन्द्रको समन्वयमा ५० लाख रुपैयाँ अनुदान दिएको थियो। त्यसैगरी उक्त कार्यक्रममा बिउदेखि टनेलसम्म सरकारले अनुदान दिएको थियो।

सरकारी सहयोगका अतिरिक्त किसानहरूले करिब २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको छ। गाउँमा यो कार्यक्रम लागु भएपछि किसानहरूले राम्रो आम्दानी गरिरहेको केन्द्रले दावी गरेको छ। उक्त कार्यक्रम अन्तर्गत किसानहरूका लागी जोत्ने ट्याक्टर, धान रोप्ने मेसिन लगायत उपकरणहरू उपलब्ध गराइएको छ।

प्रदेश ५ सरकारले २०७५ सालदेखि कृषि पकेट क्षेत्र विकास गर्ने योजनाअन्तर्गत दाङका ६ वटा प्रदेश निर्वाचन क्षेत्रका ६ गाउँमा स्मार्ट कृषि कार्यक्रम लागु गरेको छ।  कृषि ज्ञान केन्द्र दाङको समन्वयमा 'एक सांसद एक कृषिगाउँ' लागु गरिएको हो।

देउखुरी क्षेत्रमा लमहीको हरदवा, गढवाको गुसुरा, घोराही-८ स्यानी गाउँ, तुलसीपुर-१४ लुहाडबर मटेरा, बंगलाचुलीको रिभानटोल गाउँ र शान्तिनगर-७ दुबिचौर र बुढाडाबरमा यो कार्यक्रम लागु भएको छ। देउखुरी क्षेत्रको भेटनरीले हेर्ने र अन्य ठाउँको कृषिज्ञान केन्द्रले हेर्ने गरेको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.