आयोगले आजै प्रमाणपत्र दिने

|
फाइल फाेटाे

काठमाडौं : जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले हिजो बुधबार निर्वाचन आयोगमा जनता समाजवादी दल दर्ता भएको जानकारी दिए।  

‘हिजो बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो र हिजै दल दर्ता भइसकेको छ,’ श्रेष्ठले थाहा खबरसँग भने, ‘आज हामी उक्त पार्टीको नामको प्रमाण पत्र दिन्छौँ।’

आयोगका अनुसार केन्द्रीय कार्यसमिति अध्यक्षद्वय ठाकुर पहिलो र यादव दोस्रो वरीयतामा रहेका छन्। यस्तै गरी वरिष्ठ नेताहरु अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौँ वरीयतामा छन्।

महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्षको नेतृत्वमा जसपाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एक आपसमा एकीकरण हुने सम्झौता गरेअनुसार गत जेठ २५ गते आयोगमा दल दर्ताको निवेदन दिएको थियो। सोही निवेदनअनुसार प्रक्रिया पुर्‍याएर बुधबार दल दर्ता भएकाे आयोगले जानकारी दिएको छ।

गत वैशाख १० गते मध्यरातमा एकीकरणको सहमति गरेका राजपा-सपाले त्यसलगत्तै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएका थिए। तर पदीय भागबण्डा नमिल्दा निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिन अवधि पुरा भएपछि मात्र जसपा निर्वाचन आयोगमा दल दर्ताको निवेदन लिएर पुगेको थियाे। 

निवेदन दर्ता भएपछि आयोगले अब ४५ दिनभित्र कागजपत्र जाँचबुझ गरेर दलको मान्यता दिने नदिने निर्णय गर्ने नियम अनुसार नै अहिले दल दर्ता भएकाे आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.