|

काठमाडौंः लकडाउन नभएको भए यतिखेर बा१ह ३८६४ नम्बरको टेम्पो चाबहिल, गौशाला हुँदै रत्नपार्क चक्कर लाउँथ्यो। चक्करसँगै खनखन पैसा थाप्ने थिए चालक मोतिलाल लामाले। 'जाने हो,‘चाबहिल, पुरानो बानेश्वर,रत्नपार्क.... भन्दै यात्रुलाई बोलाउँथे। तर, लकडाउनले उनका यी शब्द बन्दाबन्दीमा छ। अहिले मात्रै सपनामा देख्छन्। घरीघरी बर्बराउँछन् उनी। 

एक सय ८ दिनदेखि मोतिलालको टेम्पो तीनचुली महाँकालको ग्यारेजमा थन्किएको छ। उनको रोजीरोटी खोसिएको छ। भन्छन्,‘जीवन टार्ने सहारा भनेकै टेम्पो थियो। अहिले ग्यारेजमा थन्किएको छ।’ हेटौडा घर भएका मोतिलाल अहिले चाबहिलमा बस्छन्।  घरीघरी ग्यारेजमा जान्छन्। ग्यारेज बन्द छ। गेटबाट पिलिक्क भएपनि हेर्छन् अनि फर्किन्छन्। उनको मनमनै चिन्ताले आगो बलिरहेछ। कुरा गर्दै गर्दा पटक पटक शब्द दोहो¥याउँछन्,‘अब कसरी गुजारा चलाउने? परिवार कसरी पाल्ने?।’ 

मोतिलालको सहारा भनेकै टेम्पो थियो। त्यहीबाट कहिले दैनिक ५,६ हजार  कमाउँथे। साहुलाई पैसा दिन्थे। बचेको पैसाले तीन जनाको परिवार राम्रैसँग चलेको थियो। एक जना छोरालाई राम्रैसँग पढाइरहेका थिए। तर, कोरोना भाइरस महामारीले ती खुसीहरु सुटुक्क लुट्यो। दुःख पोख्छन्,‘लामो समयदेखिकाे यो बन्दले अब कसरी घरभाडा तिर्ने? रासन पानी कसरी जोहो गर्ने? म जस्तै अरु चालक पनि निरास छन्।’ उनका अनुसार उनले टेम्पो व्यवसायी संघबाट एक महिनाअघि नै १५ केजी राहत पाएका थिए। त्यसैले केही भए पनि उनमा राहत मिल्यो।

टेम्पो चलाउन नपाएपछि मोतिलाल अहिले कामको खोजीमा भौंतारिरहेका छन। बुधबार महाँकालमा काम खोजिरहेकै बेला उनी भेटिए। ‘धेरै दिनसम्म टेम्पो चलाउन पाइएला कि भनेर आशामा बसियो। खै आशामै सीमित भयो। अब यसको अनुहार मात्र हेरेर हुँदैन भनेर अहिले अरु काम खोज्दै छु।’ उनका अनुसार घर बनाउने मिस्त्री काम पनि गर्छन्। त्यही काम अहिले खोज्दै छन्। तर, उनले पाउन सकेका छैनन्।

उनी पहिला कामको सिलसिलामा विदेश पनि गए। विडम्बना, सोचे जस्तै कमाइ हुन सकेन। त्यसपछि नेपालमै फर्किएर टेम्पो चलाउने पेसा अँगाले। मोतिलालले टेम्पो चलाएको चार वर्ष भैसक्यो। अहिलेसम्म यस्तो संकट कहिलै बेहाेरेका थिएनन्। तर, यसपालि उनले अचम्मै भोगे। देखे। टेम्पो चलाउँदा र अन्य काम गर्दा धेरै फरक पाइने उनको अनुभव छ। भन्छन्, ‘टेम्पो चलाउँदा दिनभरि पैसा हातमा पर्छ। साहुको भए पनि गोजीमा हाल्न पाइन्छ, खेलाउन पाइन्छ। अरु काम गर्दा पैसा पाउन महिनौं दिन कुर्नुपर्छ। त्यसैले यही पेसा मन परेर लागेँ।’

लकडाउन खुलेपछि पनि उनलाई चिन्ता छ। खियाले सबै गाडी खाइसक्यो। अब कहाँको पैसाले मर्मत गर्ने? साहुले सहयोग गर्ला कि भन्ने आस भने उनमा छ। बैंकको ऋण तिर्न नपर्दा भने उनी खुसी छन्। ‘अहिले टेम्पो साहुलाई बैंकको लोन तिर्नेमा तनाव होला,’उनी थप खुल्छन्,‘बैंकबाट फोन आएको होला। तर, यस्तो समस्या भने मैले भोग्नु परेको छैन। मेरो व्यक्तिगत समस्या त मलाई छँदै छ।’

ग्यारेजमा थन्किएका टेम्पोको स्टेरिङ कहिलेबाट घुमाउन पाइने भन्दै उनी अहिले ती दिन पर्खिंदै बसेका छन्। सरकारसँग उनको माग छ,‘सबै व्यावसाय खोलियोस्। सबै सवारीसाधन छिट्टै सञ्चालनमा आओस्। रोगले भन्दा भोकले मर्ने भइयो। सरकार आफ्नो खुसी मात्र नहेर्नुस्। जनताको समस्या पनि बुझिदिनुस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.