|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा वनझाक्री पार्क निर्माण गरिएको छ। महालक्ष्मी नगरपालिका-६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा वनझाक्री पार्क निर्माण गरिएको हो।

प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको लगानीमा पार्क निर्माण गरिएको हो। पार्कमा वनझाँक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खुड्किला रहेको रेलिङ रहितको सिढी र विश्रामस्थल, शौचालय आदि निर्माण गरिएको छ।

पार्क निर्माण ०७६ साउन १९ गते सुरु भएको र आगामी माघ १९ गते सम्पन्न हुने सम्झौता भए पनि सम्झौताको अवधिको ७ महिनाअघि नै निर्माण सम्पन्न भएको पार्क निर्माणको ठेक्का पाएको वाइपिआर निर्माण सेवाका सञ्चालक महेन्द्र निरौलाले बताए।

यस क्षेत्रबाट अरुण नदी आसपासका फाटिला क्षेत्र, विश्वकै होचो अरुण उपत्यका, मौसम खुलेको समयमा मकालु लगायत विभिन्न हिमश्रृखला देख्न सकिन्छ।

महालक्ष्मी नगरपालिकाले यो पार्कसँगै अन्य पार्क पनि निर्माण गरिरहेको जनाएको छ। पार्क निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय सम्पदास्थल एवं सांस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए। पार्क निर्माणमा भ्याटबाहेक २ करोड ८३ लाख ७९ हजार ६ सय ५५ लगानी रहेको बताइएको छ।

उद्घाटनमा विवाद

प्रदेश सरकारको लगानीमा महालक्ष्मी नगरपालिकामा बनेको वनझाँक्री पार्क तोकिएको समयभन्दा ७ महिना सकिए पनि प्रदेश र स्थानीय तहको विवादका कारण उद्घाटन हुन सकेको छैन। पार्कको महालक्ष्मी नगरप्रमुख पर्शुराम नेपालले उद्घाटन गर्ने कार्यक्रम तय गरिए पनि प्रदेश सांसद एवं न्याय प्रशासन एवं विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले आफूले उद्घाटन गर्ने भन्दै रोकेका छन्।

प्रदेश सरकारको लगानीमा बनेका योजनामा स्थानीय सरकार हाबी गराउने भन्दै निर्माण कम्पनी एवं शहरी विकास तथा भवन निर्माण कार्यालयमा कार्यक्रम रोक्न भनेपछि कार्यक्रम स्थगन भएको छ। स्थानीय सरकार र प्रदेश सरकारमा रहेका नेता विच भएको विवादसँगै पार्क उद्घाटन कार्य अन्योलमा परेको छ।

प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले बोलपत्र आह्‍वान गरेपछि पार्क निर्माणमा वाइपीआर निर्माण सेवा प्रालिले जिम्मेवारी पाएको थियो। सो निर्माण कम्पनीले तोकिएको सयमभन्दा ७ महिना अघि नै निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटामा पत्र दिएको सञ्चालक निरौलाले बताए।

सम्झौताको अवधिको ७ महिना अघि नै निर्माण सम्पन्न गरेको निर्माणको ठेक्का पाएको वाइपिआर निर्माण सेवाको अन्तिम भुक्तानी गर्न बाँकी रहेको शहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटाका प्रमुख मिलन आर्चायले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.