घर बस्न नपाएदेखि माइत जान नपाएसम्मका पीडा
घर बस्न नपाएदेखि माइत जान नपाएसम्मका पीडा
पर्वत : गीत समाजको ऐना हो। समाजको परिवेश जस्तो रहन्छ कलाकारले आफ्ना गीतसङ्गीतमा पनि त्यही परिवेशलाई उतार्ने गर्छन्। देश कोरोनाको कहरमा परिरहेको बेलामा कलाकारले पनि यसपालिको तीजका गीतमा कोरोनाकै विषयलाई उठाएका छन्।
अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खाने नाच्ने, दिदी बहिनी लिन जाने लगायतका विषय थिए। अहिले पनि ती विषयमा केन्द्रित रहँदै कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ। लकडाउनको ४ महिना बित्नै लाग्दा पनि कोरोनाको कहर उस्तै छ। तीजमा दिदीबहिनी र साथीसंगी भेट भएर गीत गाउँदै गर्ने रमाइलोलाई यसपालि करिव बिट मार्नुपर्ने अवस्था छ। सरकारले कोरोना सङ्क्रमणको जोखिमका कारण भिडभाड नगर्न भनेको छ।
सरकारको मात्रै के कुरा घरकी चेली माइतीमा आउँदा छोरीमा नै सङ्क्रमण पो छ की? भनेर माइत गएकी छोरीलाई क्वारेनटाइनमा राख्नुपर्ने अवस्था छ। न त दिदीबहिनी लिनलाई दाजुभाइ जान सक्ने अवस्था नै छ। यिनै विषयलाई यस पटकको तीज गीतमा कलाकारले समावेश गरेका छन्।
कोरोनासँग नडराई यसलाई जित्नका लागि प्रधानमन्त्री के.पी. शर्मा ओलीले बेसार पानी खानुपर्ने र हाँछ्यू गरेर उडाउनुपर्ने बताए। यही विषयलाई पनि कतिपय कलाकारले गीत मार्फत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीप्रति व्यङग्य पनि गर्न भ्याएका छन्। कुनै गीतमा लामो समयपछि विदेशबाट श्रीमान् घरमा फर्किँदा पनि परिवारको साथमा बस्न नपाई क्वारेन्टाईनमा बस्नुपरेको र क्वारेनटाइनको व्यवस्थापन हेर्दा बरु गाई बाँध्ने गोठमा नै बस्न उत्तम रहेको विषय पनि उठाइएको छ।
बेसार पानी
तीजको सन्दर्भमा अरू गीतभन्दा पहिले बजारमा आएको ‘बेसार पानी’ ले मिडियादेखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पनि निकै चर्चा पायो।
प्रदीप त्रिपाठीको शब्द, स्वर र सङ्गीत रहेको गीतमा प्रधानमन्त्री ओलीले कोरोना लाग्न नदिन र लागेमा निको पार्न बेसार पानी र तातो पानी खानुपर्ने तथा हाँछ्यु गर्नुपर्ने भनी दिएको सुझावप्रति गीत केन्द्रित छ। गीतमा सरकारले कोरोना नियन्त्रणको लागि खर्च गरेको १० अर्व रुपैयाँको कुरा पनि उठाइएको छ।
बेसार पानी खाको भए मर्ने थेनन त्यति त
हामी जनता कति अल्छी गर्न सक्थ्यौँ यती त।
खानी रे, खानी रे, खानी रे, खानी रे
के.पी बा ले भनेको कोरोनाको औषधि त बेसार पानी रे,
कोरोनाको औषधि त तातो पानी रे।
बेसार पानी खाऊ
हास्यशैलीमा बनेको अर्को गीत ‘बेसार पानी खाऊ’ मा पनि प्रधानमन्त्री ओलीलाई नै मुख्य पात्रका रूपमा राखिएको छ। गीतमा देशलाई घर मानेर प्रधानमन्त्री ओलीलाई घरको बाजे मानिएको छ।
‘ए गाउँले हो हाम्रा बाजेले कोरोनाको औषधि पत्ता लगाए है। आउनुहोस् औषधि लिएर जानुस् कोरोनाबाट बच्न।’
आमा भन्छिन् रोग आयो इम्यूनीटी बढाउ
हाम्रा बाजे भन्न थाले बेसार पानी खाऊ
आफ्नै घरमा बाजे डक्टर, मलाई के को डर?
नपढेरै विशेषज्ञ डाक्टर छन्,
कोरोनाको औषधि त ठ्याक्कै था पाउँछन्।
यस्तै यस्तै शब्द समावेश गीतमा ललित केसी र रिता केसीको स्वर, ललितको शब्द रचना रहेको छ।
तीज महामारी काण्ड
हास्य शैली भन्दा फरक करुण रसमा रहेर भावनात्मक रूपमा तयार पारिएको गीत ‘तीज महामारी काण्ड’ ले दर्शक र स्रोत धेरैको मन छोएको छ। विदेशमा रहेको छोरा कोरोना महामारीकै बिचमा नेपाल फर्किएपछि परिवारले नै ‘घरमा नबस,अन्तै गएर बस’ भन्नुपर्दाको पिडा, वर्षौँपछि आएको श्रीमानलाई श्रीमतीले समेत घरबाट अन्यत्र पठाउनुपर्दाको पिडा पोखिएको छ।
डाँको छोडी रुन मन छ अँगालोमा कसेर,
बाध्यताले बोलेकी हुँ टाढै बसेर,
राज्यले नै भनेको छ अझै कठिन घडी छ,
विदेशबाट फर्किनेलाई जोखिम बढी छ।
वास्तविक कथालाई नै टिपेर बनाइएको जस्तो गीतमा नेपालमा रहेका क्वारेन्टाईनको व्यवस्थापनप्रति भने तिखो व्यङ्ग्य गरिएको छ। गीतका पात्र विदेशबाट घरमा आएपछि स्थानीय तहका प्रमुख जस्तै लाग्ने व्यक्ति क्वारेनटाइनमा लैजान को लागि उनको घरमा पुग्छन्। विदेशबाट आएका ती व्यक्ति भने क्वारेनटाइनमा बस्नुभन्दा गाईको गोठमा बस्ने बताउँछन्।
भद्रगोल छन् क्वारेनटाइन नि भन्नी खबर आको छ,
यही भएर जान पनि डर लाको छ।
रोगी पनि स्वस्थ पनि छन् रे एउटै कोठामा,
बस्न दिनुस् मलाई बरु गाईको गोठमा।
पुरुषोत्तम पौडेल, शर्मिला गुरुङ, देवी घर्ती र खेम सेञ्चुरी स्वरमा रहेको गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन्।
लोभी दाइ
तीजका गीत तयार पार्न लोकप्रिय रहेका कलाकार पशुपति शर्माको गीत 'लोभी दाइ' पनि बजारमा छ। सम्झना भण्डारी र पशुपतिकै स्वरमा रहेको गीतमा एउटा लोभी दाजुले कोरोनालाई बहाना बनाएर बहिनीलाई लिन जान नपरेको र खर्च गर्न नपरेकोमा खुसी भएको देखाइएको छ।
विगतका तीजमा दुःखी हुने गरेका दाजु यस पालीको तीजमा बहिनी माइत आउने अवस्था नरहेपछि खुसी हुँदै फाइदामा रमाइएका छन्। तर पनि दाजुले बहिनीका लागि आश्वासन भने गतिलै दिएका छन्।
यसपालि त तीजमा बैनी ल्याउँला भन्ने थियो,
मिठो मिठो दर पकार ख्वाउँला भन्ने थियो,
बैनी पनि ल्याउन पाइएन, दर पकार खुवाउन पाइएन,
कोरोनाले रोक्यो झ्याप्पै। कोरोनाले रोक्यो झ्याप्पै।
कतै नजाम भो
कलाकारद्वय रामजी खाँड र देवी घर्तीको स्वरमा रहेको तीज गीतमा पनि कोरोनाकै विषय उठाइएको छ। दाजुले ज्यानको जोखिम मोलेर माइत नआउन भनेका छन्। आफ्नै घरमा गाउँले पारामा तीज मनाउँदा सबैको ज्यान बच्ने भएकाले यसपालिको तीजमा कतै जान नहुने गीतमा भनिएको छ।
ए नरोऊ बैनी मन नदुखाऊ केलाई दुःख पाउँछेउ र?
ज्यानको माया मारी मारी माइत आउँछ्यौ र?
घरै बसी नाचम भो, घरै गीत बजाम भो,
यसपालिको तीजमा त कतै नजाम भो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।