|

बैतडी : कोरोनाको महामारीका कारण यतिबेला विश्व नै आक्रान्त छ। नेपालमा पनि कोरोना संक्रमण फैलिरहेका बेला स्वास्थ्यकर्मी स्वास्थ्य सुरक्षा सामग्री उपकरणबिनै पनि फ्रन्ट लाइनबाट पछि हटेका छैनन्। यतिबेला नत उनीहरूले घरपरिवार आफन्त नै भन्‍न पाएका छन्। जसको ज्वलन्त उदाहरण हो, बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टको।

उनी  प्रयोगशालाकर्मी  भएर कोरोना कहरसँगै गाउँपालिकामा ८ वडाका २४ क्वारेन्टाइनमा एक्लैले धाए। एक्लो रातदिन नभनी क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब संकलनमा जुटे। कोरोना संक्रमणको जोखिम एकातिर थियो भने अर्कोतिर दिनभरको तनाव अर्कोतर। दुर्गम वडाहरुमा जाँदा दिनभरको थकानले त जागिरै छोड्दिऊँ जस्तै लाग्थ्यो उनलाई तर पनि सेवा गरौँला भने स्वास्थ्य पेसा प्रवेश गरेकाले त्यो निर्णय पनि गलत लाग्यो। 

जागिर खाएको २ वर्ष मात्रै पुगेका दीपकको उमेर हाल २१ वर्ष भयो। २१ वर्षे कलिलो उमेरमै कोरोनाको फ्रन्ट लाइनमै खटिए। 

‘बिहान सबेरै हिँड्नुपर्ने अनि मध्यरातमा मात्र डेरामा पुगिने गरेको दीपकको भनाइ छ। जेखिम मोलेर काम गरिरहँदा जोखिम भत्ता दिइने भनिए पनि गाउँपालिकाले अझै दिएको छैन। उनले भने, ‘जोखिमभत्ता सेवासुविधा दिने भनेको छ अहिलेसम्म पाएका छैनौं’ उनले थपे, ‘पिपिई लगाएर १२ घण्टासम्म पनि बसियो त्यो बेला त आफैं मरिन्छ कि जस्तो लाग्यो।’ 

घाममा पिपिई लगाएर लगाएर काम गर्न धेरै अप्‍ठेरो भए पनि कर्तव्‍य र जिम्मेवारीबाट नभागेको उनी बताउँछन्। 'कहिलेकाहीँ एक बोतल पानीको भरमा काम गर्नुपर्यो,दुर्गम वडामा खाना नमिल्ने गर्मीको बेला ५ घन्टा उकालो चढेरसमेत काम गरियो’ उनले भावुक हुँदै भने, ‘दुर्गम वडा १ नम्बरको रिम जाँदा त खुट्टा नै मर्कियो, इन्जेक्सन हानेर,पेनकिलर खाएर काम गरेँ।’ क्वारेन्टाइनमा बसेका मान्छेहरूले भने मनोवल खस्किने खालका व्‍यवहार गरेको उनको अनुभव छ।

गाउँपालिकामा एउटा मात्रै प्रयोगशालाकर्मी हुँदा घर जान नपाएको गुनासो उनको छ। उनले भने,
‘घर जाऊँ भने छरछिमेकीलाई नराम्रो लाग्ने डर, त्यसैमा जिम्मेबार मान्छे भएको हुनाले यत्तिक्कै हिँड्न मिलेन।' 

पोजेटिभ रिपोर्ट आएपछि गाली गरे

क्वारेन्टाइन जाँदाको मनमा डर एकातिर हुन्थ्यो भने अर्कोतिर क्वारेन्टाइन बसेका नागरिक र तिनका घरपरिवार र आफन्तको गाली खाएको नमिठो अनुभव पनि दीपकसँग छ।  वडा नं ७ चडेपानीमा क्वारेन्टाइनमा बसेको मान्छे आरडिटी गर्दा पोजेटिभ देखियो उनले भने, ‘क्वारेन्टाइनमा बसेका ती व्यक्तिका आमाले फर्किंदा निकै गाली गर्नुभयो, केही बोल्न सकिनँ सिधैं आएँ।’

गाउँपालिकामा हालसम्म ९ सय जना भारतबाट भित्रिएका छन्। त्यसले गर्दा कोरोना भाइरस संक्रमणको जोखिम दिनानुदिन बढिरहेको छ। यसका साथै दोगडाकेदारमा ४३ जनामा संक्रमण पुष्टि हुँदा जिल्लाभरी २९५ जना संक्रमित रहेका छन्। 

गाउँपालिकाले आरडिटी पोजेटिभ आएकालाई पिसिआर रिपोर्ट नआउँदै घर पठाएको छ, कोरोना पुष्टि भइसकेपछि पनि आइसोलेसनमा ल्याइएको छैन। कोरोना पुष्टि भएकाहरुलाई घर पठाइँदा झन् जोखिम बढेको दीपकको अनुभव छ। यसका साथै  एक पटक पिसिआर परीक्षणमा पोजेटिभ देखिएकालाई पनि दोस्रो परीक्षणबिना घर पठाउने गरेकाले काम गर्न झन् डर लागेको उनले बताए। 

संक्रमण बढिरहेको देख्दा उनलाई डरसँगै कहिलेकाहीं त दिक्क लाग्छ। दिनभर क्वारेन्टाइनमा रहेका सर्वसाधारणको स्वास्थ्य अवस्था बुझ्न गइरहनुपर्छ।

सुरुमा भन्दा पछि डर लाग्‍यो

सुरु सुरुमा क्वारेन्टाइन जाँदा केही डर नलाग्ने गरेको भए पनि आरडिटी पोजेटिभ आउन थालेपछि दीपकलाई क्वारेन्टाइन जान पनि डर लाग्न थाल्यो। आरडिटी पोजेटिभ आएपछि स्वाब संकलन गर्नुपर्ने थप डर थपियो। उनले भने, ‘विश्वभर कोरोनाका कारण स्वास्थ्यकर्मी पनि संक्रमित भए मृत्यु भएको खबरले झनै डर लाग्थ्यो, तर मनोबल उच्च राख्दै काम गरेँ।’

गाउँमा डेरा गरी बसेका दीपकले क्वारेन्टाइनमा बसेका नागरिकको आरडिटी पोजेटिभ आउन थालेसँगै डेरा पनि छोड्नुपर्ने बाध्यता आइलाग्यो। आरडिटी चेक गरेर आउँदा डेरामा पुग्दा छरछिमेकीले  नराम्रो दृष्टिकोणले हेर्न थालेको उनको गुनासो रहेको छ। क्वारेन्टाइनबाट डेरा पुग्दा छरछिमेकीले कोरोना आयो भन्दै जिस्किने हेप्ने गरेको उनको अनुभव छ।

दीपकले हाल गाउँबाट डेरा सारिससेका छन्। डेरामा बस्ने वातावरण नहुँदा स्वास्थ्य शाखा र गाउँपालिकासँग अनुरोध गरेपछि दीपकलाई हाल श्रीकोट स्वास्थ्य चौकीमा आवासको व्यवस्था गरिएको छ।  डेरा सारेपछि पनि दुई तीन दिनसम्म गाउँसमाज देखेर निकै तनाव भयो। ‘पिसिआर परीक्षणमा पोजेटिभ देखिए पनि १४ दिनपछि दोस्रोपल्ट परीक्षण नगरी सिधै घर पठाउनु र पोजेटिभ देखिएकाहरू कोही रोपाइँमा त कोही मेलापात गरिरहनु थप जोखिमपूर्ण हुने उनी बताउँछन्।

बैतडीमा हालसम्म २९५ जनामा कोरोना पुष्टि भएको छ। जिल्लाका सबै स्थानीय तहमा कोरोना फैलिएको छ।  जिल्लाका सबै संक्रमितमध्ये २ सय ६५ जना डिस्चार्ज भइसकेका छन्। तीमध्ये अधिकांशलाई कोरोनाको लक्षण नदेखिएको भन्दै पुन परिक्षण नगरी डिस्चार्ज गरिएको हो। संक्रमित ३० जना मात्रै हाल आइसोलेसनमा रहेका छन्।

कोरोना पुष्टि हुने सबै भारतबाट फर्किएका छन्।  यहाँका स्थानीय तहका क्वारेन्टाइनमा अझै भारतबाट फर्किएका ५ सय २९ जना रहेका छन्। उनीहरु १४ दिने क्वारेन्टाइन अवधि नपुगेका र आरडिटी पोजेटिभ आएका रहेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.