|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो केही दिनयता संक्रमितको संख्या घटेको दाबी गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जेठको अन्त्यतिर संसद र पत्रकारसँग असार मसान्तसम्म नेपालमा दैनिक १० हजारको स्वाब परीक्षण गर्ने बताएका थिए। तर, मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले अहिले सरकारसँग १० हजार परीक्षण गर्ने क्षमता भए पनि परीक्षण गर्नुपर्ने मानिसहरू नहुँदा परीक्षण कम भइरहेको बताएका छन्। यसै सन्दर्भमा थाहाकर्मी जगत भण्डारीले प्रवक्ता डा. गौतमसँग गरेको कुराकानीको सम्पादित अंश :

स्वास्थ्यमन्त्रीले मात्र होइन तपाईंले पनि असार मसान्तसम्म दैनिक १० हजार परीक्षण हुने भन्नुभएको थियो, तर पछिल्लो केही दिनयता परीक्षण दर र संक्रमण दर दुवै घटेको जस्तो देखिन्छ नि किन?

अहिले हामीसँग प्रतिदिन १० हजार परीक्षण गर्न सक्ने क्षमता भइसकेको छ। केही दिन अघिसम्म हामीसँग २२ वटा ल्याब थियो। अहिले २५ वटा पुगेको छ । अर्को ७ वटा सुरु हुने अवस्थामा पुगेको छ। तर, भयो के भने पहिला २ लाख मानिस क्वारेन्टाइनमा हुँदाको इस्टेमिटअनुसार त्यसो भनिएको हो। ती सबै मान्छेलाई परीक्षण गरेर घर पठाइसकिएको छ।

अहिले २५ हजार जना मानिस मात्र क्वारेन्टाइनमा छन्। उनीहरुमध्ये धेरैको टेष्ट भइसकेको छ। दश हजार पुर्‍याउनका लागि पुर्‍याउने त होइन होला नि? आवश्यकताको आधारमा गर्ने हो। हिजो पो क्वारेन्टाइनमा झण्डै दुई लाख मान्छे थिए र दैनिक १० हजार परीक्षण गर्न सकिन्छ भनेको हो। अहिले त क्वारेन्टाइनमा २५ हजार मात्र छन्। उनीहरूमध्ये पनि धेरैको स्याम्पल (नमुना संकलन) लगिसकिएको छ। अहिले हामीले कन्याक्ट ट्रेसिङ गरिरहेका छौं।

हामी दैनिक १० हजार स्वाब परीक्षण गर्न तयार छौँ तर शंकास्पद  मान्छे हुनुपर्‍यो। दोहोर्‍याउँदै हिँड्नु त भएन। कि कन्याक्ट ट्रेसिङ हुनुपर्‍यो, कि मानिस बाहिरबाट आउनुपर्‍यो।

यसअघि देशभरका क्वारेन्टाइनमा बसेका शंकास्पदबाहेक सबैलाई आरडिटी परीक्षण गरेर मात्र घर पठाइएको होइन र?

हामीले अहिलेसम्म अढाई लाख बढी परीक्षण गरिसकेका छौँ, क्वारेन्टाइनमा बसेका १ लाख ९० हजार थिए। अहिले पनि २५ हजार जति क्वारेन्टाइनमै छन् भने आफैँ परीक्षण नगरिएको भनेर कसरी भन्ने?

तर जनस्वास्थ्यविद्लगायत जानकारहरूले परीक्षणको गति नै भएन भनिरहेका छन् नि किन त्यसो भनिरहेका होलान् 

कोरोनाको भाइरसको महामारी सुरु हुनुअघि एउटा पनि टेष्ट गर्न नसक्ने हाम्रो जस्तो देशमा अहिले दैनिक ६–७ हजार परीक्षण हुनु सामान्य होइन। अर्को के बुझ्नुपर्‍यो भने रिअल टाइम पिसिआर भनेको हेमोग्लोबिन, प्रिग्रेन्सी टेष्ट र किड्नी र लिभरको फङ्सन हेरेजस्तो  र यो सुगर जाँचेजस्तो होइन, यसको लामो प्रोसेस हुन्छ।

पिसिआर टेष्ट गर्ने रोग अरू पनि हुन्छ। यसअघि किन पिसिआर परीक्षण गर्नलाई प्रयोगशालाहरू थिएनन्? एउटा पनि नहुने ठाउँमा दैनिक ५–६ हजार परीक्षण हुँदा पनि भएन भनेर, अहिले बुझ्ने मान्छेले भन्दैनन्। यो विधि के हो? एउटा टेष्टको रिपोर्ट निकाल्न कति समय लाग्छ? कति खट्नुपर्छ भन्ने पनि थाहा पाउनुपर्छ।

छिमेकी मुलुक भारत कोरोना संक्रमण बढी भएको तेस्रो मुलुकमा पुगिसक्दा नेपालमा कसरी घटेको होला संक्रमित

अहिले विदेशबाट आउने मानिस नै घटेपछि परीक्षण घट्नु त स्वाभाविक हो नि । अहिले भारतबाट दैनिक दुई हजार पन्ध्र सय र विदेशबाट पनि हजार पन्ध्र सय आउने गरेका छन्। भारतबाट आएकाहरुको परीक्षण गरीरहेका छौं। विदेशबाट आएकाहरुले उतैबाट परीक्षण गरेर आउनुभएको छ। अहिले हामीले प्राइमेरी कन्ट्याक्ट (जो मानिस पोजेटिभ छ उससंग सम्पर्कमा आएकाहरुको) र समुदायस्तरमा ठाउँहरु आइडन्टीफाइ (पहिचान) गरेर काठमाडौंकै नख्खु र तीनकुनेमा परीक्षण गरिसकेका छौं।

अहिले थप विभिन्न १२ ठाउँको पहिचान गरेर परीक्षण गरिरहेका छौं। अबको दुई/तिन दिनभित्र त्यसको पनि रिपोर्ट आइसक्छ।   अहिले पनि दिनमा ५/७ हजारको परीक्षण भइरहेको छ। अब हामीले ठूलो जनशक्ति परिचालन गरेर ठूलो शहरका ठूलो बस्ती जहाँ केसहरू बढी देखिएका छन्। धेरै मानिसको चहलपहल हुने ठाउँ जस्तै, बैंकको काउण्टर, हस्पिटलको इमरजेन्सि, ओपीडी जस्ता ठाउँमा स्याम्पलिङ (नमुना संकलन) गर्न लागिरहेका छौं। जाँच गर्दैछौं। 

अहिलेसम्म नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिसकेको छ कि छैन

अहिलेसम्म कोरोना संक्रमण समुदायस्तरमा गइसकेको प्रमाण फेला परेका छैन। अहिलेसम्म देशभर भेटिएका कोरोना संक्रमितमध्ये ९७ प्रतिशत मानिस बाहिरबाट आएकाहरू हुन्। बुधबारको रिपोर्टअनुसार अहिलेसम्म आएका केशहरुमा ९७ प्रतिशत मानिस बाहिरबाट आएका र बाँकी ३ प्रतिशत मानिस उनीहरुको सम्पर्कमा आएका, सँगै जचाँउन पुगेका र कतिपय एयरलाइन्सका मानिसहरुसमेत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.